स्वास्थ्य

कोभिडविरुद्धको खोप ‘भेरोसेल’लगाउन सुरु

इकागज |
चैत २५, २०७७ बुधबार १५:१६ बजे

काठमाडौँ : सरकारले बुधबारबाट चीनको अनुदानमा प्राप्त ८ लाख डोज कोभिडविरुद्धको खोप ‘भेरोसेल’ लगाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरूलाई लगाउन सुरु गरिएको जानकारी दिएको छ । बुधबार काठमाडौंको बानेश्‍वरस्थित निजामति कर्मचारी अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोभिडविरुद्धको खोप हस्तान्तरण गरेकी थिइन् । हस्तान्तरणपछि खोप लगाउन सुरु गरिएको हो । 


खोप हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यान्छीले चीन र नेपाल निकै नजिकको मित्र भएकाले कोरोना महामारीमा चीनले नेपाललाई खोप सहयोग गरेको बताइन् । उनले अहिले ८ लाख डोज उपलव्ध गराएको भन्दै यसले लक्षितबर्गलाई कोभिड महामारीबाट जोगाउन मद्धत बताइन् । त्यस्तै उनले विश्वमा दोश्रो चरणको कोभिड महामारी देखिएको भन्दै यसको रोकथाम निकै चूनौती देखिएको बताइन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३  स्थानमा मात्रै दिइने छ । दुई डोज दिनु पर्ने भएकोले यस अभियानमा करीब ४ लाखले खोप पाउने छन् । 

महाशाखाका अनुसार यो खोप १८ देखि ५९ बर्ष उमेर समूहका प्राध्यापकहरू, चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरू, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने छन् । यस्तै अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफुल, तरकारीलगायतका व्यापारीले पनि खोप पाउने छन् । 


Author

थप समाचार
x