स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल हल गर्न सरकारलाई निर्देशन
काठमाडौँ- संसदीय समितिले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल हल गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले क्याविनेटका प्रस्ताव लगेर भएपनि सो बीमा कार्यक्रम कार्यान्वयनमा देखिएको समस्या तत्काल हल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । बजेट वक्तव्यमा आएको सो सम्बन्धि व्यवस्थालाई हेरी मन्त्रालय आफैंले वा नसकेमा मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय गराएर भएपनि सो बीमा कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले बताइन् ।
समितिले सेवाग्राहीलाई सहज ढंगले सो बीमाको भुक्तानी पाउने व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ ।
बैठकमा समितिका सदस्यहरुले स्वास्थ्य बीमा कार्यक्रम तत्काल सुचारु गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । आफूले नसके मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय गराएर भएपनि सो बीमा कार्यक्रम तत्काल कार्यान्वयन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढिलाई गर्न नहुने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले बताए । उनले स्वास्थ्य बीमा कार्यक्रम रोकेर सरकारले गम्भिर गल्ती गरेको आरोप समेत लगाए ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले स्वास्थ्य बीमा कार्यक्रमलाई अर्थ मन्त्रालयले अघि बढाउन समस्या खडा गरिरहेको उल्लेख गर्दै आक्रोश समेत व्यक्त गरे । उनले अर्थ मन्त्रालयसँग आवश्यक छलफल गरेर सो बीमा कार्यक्रमलाई तत्काल अघि बढाउन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङको गम्भीर ध्यानाकर्षण गराए।
सांसद पोखरेलले सो बीमा कार्यक्रमलाई निजी क्षेत्रको पनि सहभागितामा अघि बढाउने सरकारको निर्णय भने स्वागतयोग्य रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया