स्वास्थ्य

सडकमै १०० चालक र सहचालकको आँखा, कान, रक्तचाप र मधुमेहको जाँच

इकागज |
साउन ६, २०७९ शुक्रबार २१:३४ बजे

जनकपुरधाम- बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय धनुषाले आयोजना गरेको निःशुल्क स्वास्थ्य जाँच शिविरमा १०० जना चालक तथा सहचालकहरुले जाँच गराएका छन् । 

माँ जानकी यातायात प्रालि जनकपुरधामको सहयोगमा जिल्ला ट्राफिक कार्यालय धनुषाद्वारा जनकपुरधाम उपमहानगरपालिका-२१ स्थित बसपार्कमा आयोजित निःशुल्क शिविरमा चालक तथा सहचालकहरुले आँखा, कान, रक्तचाप तथा मधुमेह रोगको जाँच गराएका हुन् ।


शिविरमा जनकपुरधामस्थित म्याक्स लाइफ अस्पतालका जेनरल फिजिसियन डा कृष्णकुमार साह, डा अभिजित साह, न्यूरो सर्जन डा रवि श्रीवास्तव, डा नेहा साह तथा नाक, कान, घाँटी रोग विशेषज्ञ डा सुनिल सिंहलगायत चिकित्सकहरुले चालक तथा सहचालकहरुको स्वास्थ्य जाँच गरे । 

यस्तै जनकपुरधामस्थित जानकी आँखा अस्पतालका आँखा विशेषज्ञहरुले चालक र सहचालकहरुको आँखाको जाँच गरेको जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए ।  

जाँच गरिएका चालक तथा सहचालकहरुमध्ये थोरैमा मात्र आँखासम्बन्धी समस्या देखिएको र धेरैमा अझै लाइटको रङ छुट्याउन सकिने तथा टाढासम्म हेर्न सकिने क्षमता रहेको पाइएको चिकित्सकहरुले बताएका छन् । 

यस्तै रक्तचाप जाँच गरिएका चालकहरुमध्ये १० प्रतिशतमा मात्र उच्च रक्तचापको समस्या देखिएको र त्यसमध्ये पाँच प्रतिशतले मात्र उच्च रक्तचापको औषधि सेवन गरिरहेको पाइएको चिकित्सकहरुको भनाइ छ । 

लामो दूरीका सवारी चालकहरुमा बाटोमै निदाउने, स्वास्थ्य बिग्रिने जस्ता समस्याहरु समेत पाइएकाले ती चालकहरुलाई थप स्वास्थ्य उपचारका लागि सल्लाह दिनुका साथै तत्कालका लागि केही औषधिहरु समेत वितरण गरिएको म्याक्स अस्पतालका बजार अधिकृत पङ्कज साहले बताए ।   

दुर्घटनाका विविध कारणहरु मध्ये सवारी चालकको आँखा कमजोर र स्वास्थ्य समस्याका कारण पनि रहेकाले सवारी रोकेर चालकको आँखा, कान, रक्तचाप र मधुमेहको जाँच गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए । 

निजी तथा सार्वजनिक सवारी चालकहरुलाई आँखा, रक्तचाप, बढ्दो सवारी दुर्घटना र सही ड्राइभर एटिच्युडको विषयमा चालकहरुलाई सचेतनासमेत दिइरहेको प्रहरी निरीक्षक यादवको भनाइ छ । 

जाँचपछि सवारी चालकहरुसँग सवारी दुर्घटना हुनाका कारण र न्यूनीकरणका उपायहरु बारेमा अन्तरक्रिया गरेर सल्लाहसमेत लिने गरिएको उनको भनाइ छ ।

सो क्रममा चालकहरुबाट सडकको दुरावस्थासँगै सवारी साधनमा ट्राफिक नियम विपरीत ठूला लाइनको प्रयोग गर्ने, गलत किसिमले लाइट बाल्ने, युवाहरुमा लागूऔषध सेवन गरी सवारी चलाउने जस्ता कारणले सवारी दुर्घटना बढेको जानकारी पाएको समेत उनले उल्लेख गरे । 

चालक तथा सहचालकहरुबाट आएका सुझावहरुका आधारमा सवारी दुर्घटना न्यूनीकरणका लागि थप योजना बनाइने प्रहरी निरीक्षक यादवले बताए । रासस


Author

थप समाचार
x