स्वास्थ्य

शैक्षिक संस्‍था, सिनेमा हल र पार्टी प्यालेस सबै बन्द गर्नुपर्छ: स्वास्थ्य मन्‍त्रालय

२५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह

इकागज |
चैत २७, २०७७ शुक्रबार १३:५५ बजे

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । 

मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुसलगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए । अहिले देखिएका संक्रमितहरूमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको बताए । 


उनले भने ‘भिडभाड पुरै बन्द गर्नुपर्छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर २५ जना भन्दा कम मान्छे दूरी कायम गरेर भेला हुन सकिन्छ । त्यो पनि अब कति दिनपछि नगर्नुस भन्नुपर्ने अवस्था आउन सक्छ । स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भिडभाड सबै बन्दगर्नुपर्छ । अहिले छिटपुट रूपमा कोभिड–१९ का केसहरू गएको महिनाको भन्दा बढेर गयो । अस्पतालमा आइसियुमा विरामीहरू धेरै नै भर्ना भइसकेका छन् । अहिले कोरोनाको ग्राफ उकालो लाग्यो । अब बढ्न थाल्यो । अब हामीले ध्यान दिएनौं भने फेरि संक्रमण बढेर जान्छ ।’

प्रवक्ता गौतमले अहिले कोभिड–१९ सर्ने चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताए। त्यसका लागि भिडभाड नगर्ने, दूरी काय गर्ने, मास्क लगाउने, सेनिटाइज प्रयोग गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउनुपर्ने उनको भनाइ छ । यस्तै भिडभाड हुने सबै व्यवसाय तथा पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने उनले बताए।

उनले भने ‘कोरोना सर्ने चेन ब्रेक गर्नुपर्छ । भिडभाड हुने सबै व्यवसाय, पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर गर्नचाहिं मिल्छ, तर भिडभाड नगरेर/डिस्टेन्स कायम नगरीकन अब कुनै पनि काम गर्न मिल्दैन ।’

छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा सङ्कास्पद देखिएका विरामीको एन्टिजेन परीक्षण गर्ने र व्यवास्थापन गर्ने कार्यलाई तिब्रता दिएको पनि प्रवक्ता गौतमले जानकारी दिए । उनले भने ‘सीमा नाकामा र अन्त संकास्पद देखिएका ठाउँमा हामी एन्टिजेन परीक्षण गर्‍यो भने छिटो व्यवस्थापन गर्न सकिन्छ।’

पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेको पनि प्रवक्ता गौतमले बताए । त्यसैले अहिले नै कोभिड संक्रमण भएका धेरै बिरामीहरूलाई अस्पतालमा भर्ना गर्नुपरेको पनि बताए ।


Author

थप समाचार
x