जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट सञ्चालन
फाइल तस्बिर
खोटाङ - जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । प्रदेश नं १ सरकार प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको एक करोड ५० लाख लगानीमा स्थापना गरिएको हो ।
अस्पताल परिसरमा स्थापना गरिएको सो प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुने जिल्ला अस्पतालका बायोमेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले जानकारी दिइन् । मुन रक्स इन्टरनेशनल प्रालिले जडान गरेको प्लान्ट जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले औपचारिकरूपमा शुभारम्भ गरेका छन् ।
अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएसँगै सिलिण्डरमा अक्सिजन भरेर प्रयोग गर्न सुरु गरिएको जनाइएको छ । प्लान्टबाट उत्पादन भएको अक्सिजन अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क तथा निजी अस्पताललाई प्रतिकेजी रु १५ मा बिक्री गर्ने निर्णय अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राईले जानकारी दिए।
प्लान्ट सञ्चालनमा आएपछि अक्सिजन खरिद गर्न विराटनगरलगायतका ठाउँ धाउनुपर्ने बाध्यता हटेको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताइन् ।
अहिले सिलिण्डरमा भरेर प्रयोग गर्न सुरु गरिएको अक्सिजन आगामी दिनमा निर्माणाधीन ५० शय्याको अस्पलात सञ्चालनमा आएपछि पाइप लाइनमार्फत बिरामीको शय्यामा पुर्याउने लक्ष्य राखिएको छ । विसं २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई ३० वर्षपछि सङ्घीय सरकारको करिब रु २१ करोड लगानीमा ५० शय्यामा स्तरोन्नति गर्ने काम थालिएको छ ।
मुन रक्स इन्टरनेशनल प्रालिले जडान गरेको अक्सिजन प्लान्टको ट्रस भने कच्चा बनेको भन्दै विरोध चौतर्फी भइरहेको छ । विरोधपछि प्रालिले ट्रसमा प्रयोग गरिएको जाली फेर्नुका साथै पर्खाल प्लास्टर गरेर जस्तापाता लगाएको छ ।
अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको छ । तर ट्रस टाँसिएको भागमा पर्खाल लगाइएको छैन । अन्य ठाउँमा पनि सिङ्गल इँटाको पर्खाल रहेकाले निर्माणाधीन अस्पताल भवनको निर्माण सामग्री ओसारपसारका क्रममा ओहोरदोहोर गर्ने हेभीवेट गाडीको कम्पनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने जोखिम देखिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया