दक्षिण एशियाली मुलुकका स्वास्थ्य मन्त्रीहरूको आगामी सातादेखि सम्मेलन सुरू
फाइल तस्बिर
काठमाडौँ- दक्षिण एशियाली मुलुकका स्वास्थ्य मन्त्रीहरूको आगामी सातादेखि सम्मेलन सुरू हुने भएको छ । विश्व स्वास्थ्य संगठन, दक्षिणपूर्वी क्षेत्रीय समितिको पचहत्तरौँ बैठकमा स्वास्थ्य मन्त्रीहरूको २० देखि २४ गतेसम्म सम्मेलन भुटानमा हुने भएको हो ।
मानसिक स्वास्थ्यको सम्बोधन, विद्यमान कोभिड-१९ महामारी तथा स्वास्थ्य आपत्कालीन अवस्थाका लागि पूर्वतयारी तथा प्रतिकार्यको सबलीकरण, सुदृढ प्राथमिक स्वास्थ्य सेवामार्फत स्वास्थ्यमा सर्वव्यापी पहुँच तथा स्वास्थ्य सुरक्षा विषयमा छलफल हुने भएको हो ।
महामारी सुरू भएयता क्षेत्रीय समितिको बैठक भौतिक रूपमा बस्न लागेको पहिलो पटक हो । २०२० मा थाइल्याण्डले र २०२१ मा नेपालले आयोजना गरेको थियो । दुवै बैठक भर्चुअल रूपमा सञ्चालन भएको थियो ।
दक्षिणपूर्वी एसिया विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय निर्देशक, डा. पूनम खेत्रपाल सिंह, विश्व स्वास्थ्य संगठन मुख्यालयका अधिकारी, सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी, संयुक्त राष्ट्रसङ्घका निकायहरूका प्रतिनिधि, साझेदार, दातृ निकाय, नागरिक सङ्गठनका प्रतिनिधिहरूको समेत सहभागिता हुनेछ ।
विश्व स्वास्थ्य संगठनले निर्णय लिने सर्वोच्च निकाय, क्षेत्रीय समितिको बैठक सत्रमा छलफल हुने मुख्य विषयहरूमा नसर्ने रोगहरूप्रति भएको प्रगतिको तथा द्रुत कार्ययोजनाको अनुगमन, क्षयरोग अन्त्य गर्ने लक्ष्य प्राप्तिका लागि भएको प्रगति, पाठेघरको क्सान्सरको उन्मूलन प्रक्रियालाई गति दिने, र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको शिक्षा तथा तालिमलाई सुदृढीकरण गर्ने आदि रहेका छन् ।
'स्वस्थ जनसङ्ख्याका लागि स्वस्थ वातावरण' सम्बन्धी क्षेत्रीय योजनासहित यसअघिका क्षेत्रीय समितिका बैठकहरूमा अनुमोदन गरिएका सङ्कल्प प्रस्तावहरूउपर भएका प्रगतिहरूको पनि समीक्षा गरिनेछ जसमा, कुपोषणको दोहोरो बोझको सम्बोधन गर्नका लागि रणनीतिक योजना, रोकथाम गर्न सकिने मातृ, नवजात शिशु तथा बाल मृत्युको अन्त्य, सन् २०२३ सम्म दादुरा र रुबेलाको उन्मूलन र आपत्कालीन चिकित्सकिय टोलीको सुदृढीकरण पनि रहेका छन् ।
एकचौथाइ जनङ्ख्या बसोबास गर्ने यस क्षेत्र सन् २०१४ देखि आठवटा मुख्य कार्यक्रममा केन्द्रित रहेको छ । सन् २०२३ सम्ममा दादुरा र रुबेलाको अन्त्य, बहुक्षेत्रीय नीति तथा योजनामार्फत नसर्ने रोगहरूको सम्बोधन, मातृ, नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा कमी ल्याउने, स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई गति दिने, एन्टिमाइक्रोबाइल रेसिस्टेन्सलाई रोक्ने, आपत्कालीन जोखिम व्यवस्थापन क्षमतालाई विस्तार गर्ने, उपेक्षित उष्णदेशीय रोगहरूको उन्मूलन गर्ने, र क्षयरोगको अन्त्य गर्ने ।
२०१४ मा पोलियो रोगको उन्मूलन गरेको थियो भने मातृ तथा नवजात शिशुमा हुने धनुष्टङ्कार रोगलाई सन् २०१६ मा उन्मूलन गरेको थियो । माल्दिभ्स र श्रीलङ्काले दादुरा र रुबेला दुवै रोगको उन्मूलन गरिसकेका छन् भने भुटान, दक्षिण कोरिया र टिमोर-लेस्टेले दादुरा उन्मूलन गरेका छन् ।
मालदिप्स, श्रीलङ्का र थाइल्याण्डले हात्तीपाइले रोगको उन्मूलन गरेका छन् । नेपाल र म्यान्मारले खस्रे रोग (ट्राकोमा) उन्मूलन गरेका छन् । तथा माल्दिभ्स औलो रोगको उन्मूलन गरेका छन् । थाइलेण्ड, श्रीलङ्का र मालदिप्सले आमाबाट बच्चामा सर्ने एचआइभी र भिरिङ्गी रोगको उन्मूलन गरेका छन् । बाङ्लादेश, भुटान, नेपाल र थाइलेण्डले हेपाटाइटिस बीको नियन्त्रण गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया