खाली गर्न मणिपाल शिक्षण अस्पतालको आग्रह
कोभिड विशेष अस्पतालमा गरेको करोडौँ लगानी खेर जाने जोखिम, मधेश सरकार प्रतिक्रियाविहीन
जनकपुरधाम - मधेश प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोभिड विशेष अस्पतालको करोडौँ रुपैयाँ लगानी खेर जाने भएको छ । गत वर्ष असारमा कोभिड संक्रमण बढेका बेला जनकपुरधाम मजुलियास्थित गुठी संस्थानको जग्गामा मधेश सरकारले कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको थियो । मणिपाल शिक्षण अस्पतालले बनाएको भवनमा अस्पताल सञ्चालनमा ल्याइएको थियो ।
करिब ३९ करोड रुपैयाँ लागतमा निर्मित अस्पताल एक वर्षभन्दा बढी समयदेखि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेकोमा कोभिड विशेष अस्पताल खाली गर्न मणिपाल शिक्षण अस्पतालले प्रदेश सरकारलाई आग्रह गरेको छ । मणिपाल शिक्षण अस्पतालले प्रदेश सरकारलाई कोभिड विशेष अस्पताल हटाउन आग्रह गरेपछि मधेश सरकाको लगानी खेर जाने भएको हो ।
बतास अर्गनाइजेसन अन्तर्गतको बापो होल्डिङ्सले सञ्चालन गरिरहेको मणिपाल मेडिकल एजुकेसन एन्ड मेडिकल ग्रुपले प्रदेशकै ठूला अस्पताल खोल्न विशेष अस्पताल खालि गर्न भनेको हो । मणिपाल शिक्षण अस्पताल पोखराका निर्देशक नारायण पौडेलले करीब २०/२२ वर्षअघि अस्पताल संचालन गर्ने उद्देश्यले गुठी संस्थानसँग ४९ वर्षको लिजमा जनकपुरधाम मुजेलियामा जग्गा लिई भवन बनाए पनि माओवादी जनयुद्ध र मधेश आन्दोलनसहितका संक्रमणकालीन अवस्थाका कारण संचालन गर्न नसकेको बताए ।
'देशको अवस्था राम्रो भएपछि अस्पताल सञ्चालन गर्न प्रक्रिया सुरु गर्नै लाग्दा कोभिड महामारी आयो,' उनले भने, 'मधेश सरकारले आग्रह गरेपछि मानवताको नाताले तत्कालका लागि हामीले भवन प्रयोग गर्न दियौं । अब हामी आफ्नै अस्पताल सञ्चालन गर्न लागेकाले प्रदेश सरकारलाई भवन खाली गर्न लिखित तथा मौखिकरूपमा आग्रह गरेका छौं । उहाँहरू पनि सकारात्मक हुनुहुन्छ ।'
सामाजिक विकास मन्त्रालयलाई असार २३ गते नै पत्र लेखेर लिखित आग्रह गरेको पौडेलले बताए । साथै मुख्यमन्त्री लालबाबु राउत र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहसँग प्रत्यक्ष भेटेरै कोभिड अस्पताल हटाएर भवन खाली गर्न आग्रह गरेको उनको भनाइ छ । मुख्यमन्त्री राउतले खाली गराइदिने आश्वासनसमेत दिएको उनले बताए । सरकारले खाली नगरे कानुनी बाटो रोज्ने समेत उनको भनाइ छ ।
मणिपाल ग्रुपले अस्पताल सञ्चालनका लागि भवन निर्माणमै २७ करोड रुपैयाँ खर्च गरिसकेको जनाएको छ । ३५० बेडको अस्पताल सञ्चालन गर्न भवन मरम्मत सम्भार र नयाँ भवन थप्नुपर्ने आवश्यकता रहेकाले अझै लगानी थप्ने ग्रुपको तयारी छ ।
मणिपालले आफ्नै अस्पताल सञ्चालनमा ल्याउनले भएपछि प्रदेश सरकाको लगानी भने खेर जाने भएको छ । तर पौडेल भने प्रदेश सरकारको लगानी पूर्ण रूपमा खेर नजाने बताउँछन् ।
यता मुख्यमन्त्री लालबाबु राउतले भने कोभिड अस्पताल खाली गर्ने केही कुरा नभएको दाबी गरे । उनले यसबारे थप कुरा गर्न चाहेनन् । पछि कुरा गर्ने भन्दै फोन राखे ।
एक वर्षअघि कोभिड अस्पताल उद्घाटन गर्दै मुख्यमन्त्री राउतले भवन र जग्गा अब प्रदेश सरकार भएको भन्दै यसको रेखदेख सरकारले गर्ने र अब फिर्ता नदिने दाबी गरेका थिए । ‘यो अस्पतालसहित गुठी संस्थानसँग मणिपालले दिएको १७ बिघा जग्गा प्रदेश सरकारकै अधीनमा रहन्छ,' उनले भनेका थिए, 'यो मणिपाल शिक्षण अस्पताललाई फिर्ता दिँदैनौँ । कुनै कालखण्डमा गुठीसँग मणिपाल मेडिकल कलेजले लिजमा लिएको थियो । तर, अब यो प्रदेश सरकारको भएको छ ।'
हाल एक सय बेडको भनिएको कोभिड अस्पतालमा २० बेड आइसियू, ५५ बेड एचडियू र बाँकी जेनरल बेड रहेको छ । अस्पतालको माथिल्लो निकाय मधेश स्वास्थ्य विज्ञापन प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले कोभिड अस्पताल खाली गराउने बारे कुनै जानकारी नआएको बताए। यसबारे मुख्यमन्त्री कार्यालयलाई जनकारी हुने उनले दाबी गरे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका मुख्य सचिव कृष्णबहादुर राउतलाई पटक पटक फोन गर्दा पनि सम्पर्कमा आउन चाहेनन् भने सामाजिक विकास मन्त्रालयका सचिव इमानारायण श्रेष्ठको तीनदेखि मोबाइल स्वीच अफ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया