पश्चिम सुर्खेतमै शव परीक्षण हुने
फाइल फोटो
सुर्खेत - पश्चिम सुर्खेतमा शव परीक्षण घर नहुँदा शव बोकेर वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल पुग्नुपर्ने बाध्यता अब हटेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र, सालकोटमा शव परीक्षण घर निर्माण भएपछि पश्चिम सुर्खेतमै यो सुविधा थपिएको हो । शव परीक्षण घर नहुँदा यस क्षेत्रका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दाले अनावश्यक सास्ती भोग्नुपरेको थियो ।
शंकास्पद मृत्यु एवं दुर्घटनाबाट भएको मृत्युमा कानुनअनुसार अनिवार्य शव परीक्षण गरिन्छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले आज नवनिर्मित भवनको उद्घाटन गरे । `पीडामा परेका आफन्तजन शव बोकेर लामो बाटो छिचोल्दै वीरेन्द्रनगर पुग्नुपर्ने बाध्यता हटेको छ, मृतकका आफन्तलाई दोहोरो पीडा थियो`, उनले भने, `अझ विपन्न परिवारले ऋण, सापटीको जोहो गर्नुपर्ने अवस्था थियो, शवको परीक्षण अब आफ्नै क्षेत्रमा हुने भएको छ ।` मन्त्रालयको रु २५ लाख बजेटमा उक्त भवन निर्माण भएको हो ।
पश्चिम सुर्खेतकै बासिन्दासमेत रहनुभएका मन्त्री बुढाक्षेत्रीले विगतमा शव परीक्षण गराउन धेरै सास्ती भोग्नुपरेको अनुभव सुनाउँदै भने, `कैयन घटनामा हामी सबैले आर्थिक सहयोग गरेर शव परीक्षण गर्न वीरेन्द्रनगर पुर्याएका थियौँ, शव परीक्षण ढिला हुँदा गाडी भाडामै बढी खर्च हुन्थ्यो ।` उनले चालू आर्थिक वर्षभित्रै प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई ५० श्ययाको अस्पतालका रुपमा स्तरोन्नति गरिसक्नेगरी मन्त्रालयले बजेट व्यवस्थापन गरेको जानकारी दिए । स्तरोन्नतिका लागि प्रदेश सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ ।
भवन उद्घाटन कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले स्वास्थ्य केन्द्रमा तत्काल विशेषज्ञ जनशक्ति पठाउन मन्त्रीसमक्ष आग्रह गरे । उनले ५० श्ययाको अस्पतालका रुपमा विकास गर्नसके पश्चिम सुर्खेतका बासिन्दा अहिले जस्तो सामान्य स्वास्थ्य समस्या देखिँदा वीरेन्द्रनगर जानुपर्ने बाध्यता हट्ने अपेक्षा व्यक्त गरे । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया