परिवारले जान्नै पर्ने ‘पोस्टपार्टम डिप्रेसन’
बच्चा पाएको छ हप्ताभित्र करिव दश प्रतिशत महिलाहरूलाई डिप्रेसन हुने सम्भावना हुन्छ । यसमा मन दुःखी हुने, रुन मन लाग्ने, भोक निद्रा नलाग्ने आदि त हन्छ । जन्मेको बच्चाका बारेमा बढी चिन्ता लाग्ने, स्याहार सुसार गर्न नसकेकोमा दुःखी हुने आदि पनि हुन्छ ।
समयमै यस रोगलाई चिन्न सके र उपचार गर्न सके छिटै निको हुन्छ । उपचार नपाए रोग बढ्दै जान्छ र बच्चा तथा आमाबीच जुन आत्मीय तथा सुमधुर सम्बन्ध विकसित हुनुपर्ने हो त्यो हुन पाउँदैन ।
सुत्केरी भएको बेलामा अर्को मानसिक स्वास्थ्य समस्या पनि हुन्छ । जसलाई ‘पोस्टपार्टम साइकोसिस’ भनिन्छ । यस रोगमा मानसिक असन्तुलन भएका लक्षणहरू जस्तैः सुरै छोडेर कुरा गर्ने, हुनै नसक्ने कुरा गर्ने, रिसाउने, झगडा गर्ने, भाग्न खोज्ने, बच्चाको स्याहार नगर्ने आदि हुन्छ ।
समयमै यी लक्षणहरू थाहा पाएर उपचार गरेमा छिट्टै निको हुन्छ । उपचार नगरे रोग बढ्दै गएर बच्चालाई समेत हानि नोक्सानी पुग्न सक्छ । उपचार नपाएका यस्ता बिरामीले बच्चालाई मारेर आफू समेतले आत्महत्या गर्न सक्छन् ।
सुत्केरी भएको बेलामा हुने डिप्रेसनको समय मै पहिचान भएन र उपचार हुन सकेन भने, रोग बढ्दै गएर आत्महत्या गर्न सक्ने सम्भावना हुन्छ । नेपाली समाजमा चिन्ता लिने, मन निराश हने, रुने र निद्रा नपर्ने समस्याहरू परिवारले हेला गरेर होला वा आफूले सोचे जस्तो छोरा वा छोरी नपाएर होला भन्ने अनुमान लगाउने चलन छ ।
सुत्केरी अवस्थामा डिप्रेसन हुन सक्छ, जचाउनु वा उपचार गर्नुपर्छ भन्नेतर्फ परिवारको ध्यान गएको भने प्रायः देखिँदैन । सुत्केरी अवस्थामा परिवारले राम्रो हेरचाह पुर्याउन त पर्छ नै, डिप्रेसनका लक्षणहरू छन् भने उपचार पनि समयमा नै गराउनुपर्छ ।
सुत्केरी भएपछिको डिप्रेसनबारे मात्र चर्चा भयो । गर्भवती भएको बेलामा डिप्रेसन हुन सक्छ र सामान्य डिप्रेसन भएको बेलामा गर्भ रहन पनि सक्छ । गर्भवती भएको बेला डिप्रेसन भयो भने ४० देखि ५० प्रतिशतमा गर्भको बच्चा राम्रोसँग नबढ्ने, पूरा महिना नपुग्दै जन्मिने र बच्चाको वजन कम हुने समस्या भेटिएको छ । गर्भवती हुँदा डिप्रेसन भयो भने समयमै उपचार गराएर यो समस्याबाट मुक्त हुन सकिन्छ ।
पोस्ट–पार्टम साइकोसिस का लक्षणहरू देखिए भने पनि तुरुन्तै उपचार गराउनुपर्छ । सुत्केरी अवस्थामा हुन सक्ने डिप्रेसन र साइकोसिस उपचारपछि पुरै पनिको हुन्छ । उपचार भने चिकित्सकको सल्लाह अनुसार गर्नुपर्छ ।
(वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायको पुस्तक ‘डिप्रेसन’बाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया