स्वास्थ्य

सुदूरपश्चिममा फैलँदै डेङ्गु सङ्क्रमण

इकागज |
भदौ २३, २०७९ बिहीबार १५:३२ बजे

फाइल फोटो

महेन्द्रनगर । गत जेठ महिनायता सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत जेठयता सुदूरपश्चिममा प्रादेशिक र जिल्ला अस्पतालमा मात्रै एक सय ६१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

`डेङ्गुको सङ्क्रमण पहाडसँगै तराईका जिल्लामा सबैतिर देखिन थालेको छ`, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीले भने, `इवारस् रिपोर्टिङ विधिबाट जिल्ला अस्पतालसम्मको तथ्यांक संकलन हुने गरेको छ ।` उनले पालिका र प्राथमिक स्वास्थ्य केन्द्रस्तरसम्मको डेङ्गु रोगको बिरामीको तथ्यांक अझ बढी रहे पनि संकलन हुन नसकेको बताए । 


त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकार र स्वास्थ्य निर्देशनालयले डेङ्गु सङ्क्रमण नियनत्रणमा खटिएका चिकित्सकसहित कर्मचारीलाई आवश्यक प्रशिक्षण दिनुका साथै जाँचका लागि किट उपलब्धलगायतका कार्य गरिरहेको छ ।

`संघको सशर्त अनुदानअनुसार डेङ्गु को लार्भा नष्ट गर्न पालिकास्तरमा बजेट आएको छ”, उनले भने, `यहाँका विभिन्न पालिकाले सो अभियान सञ्चालन गरिरहेका छन् ।` त्यसैगरी गर्मी क्षेत्रमा हुने डेङ्गुको सङ्क्रमण यहाँका पहाडी जिल्लामा समेत देखिन थालेको छ ।

निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा ४१, कञ्चनपुरमा ३२, डोटीमा १४, अछाममा सात, डडेल्धुरा र बैतडीमा नौ–नौ, दार्चुलामा ३३, बझाङ र बाजुरामा आठ–आठ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

निर्देशानालयका अनुसार डेङ्गु  सङ्क्रमण नियन्त्रणका लागि नागरिकहरु पनि स्वयं जिम्मेवार हुनुपर्ने छ । `असोज अन्तिमपछि सङ्क्रमण कम हुँदै जान्छ`, उनले भने, `लामाखुट्टे नष्ट गर्ने अभियान सञ्जालन गर्नुपर्छ ।`
–––


Author

थप समाचार
x