स्वास्थ्य

डेंगुले दार्चुलाकी ५ वर्षीया बालिकाको मृत्यु

इकागज |
भदौ २३, २०७९ बिहीबार १८:२१ बजे

दार्चुला । २३ भाद्र डेंगु संक्रमणका कारण दार्चुलामा ५ वर्षीय एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले बताए ।

ती बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको तथा भदौ २० गते जिल्ला अस्पताल दार्चुला ल्याएर चेकजाँच गर्दा डेंगु र स्क्रब टाइफसको संक्रमण देखाएकाे उनले बताए । जिल्ला अस्पतालमा चेकजाँच गर्दा ति बालिकामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिना साथ अस्पतालले भर्ना गरेर उपचार गर्ने सुझाव दिएको तथा आफन्तहरुले भर्ना गरेर उपचार गर्न नमानेकाे अस्पतालले जनाएको छ ।


आफन्तहरुले अन्य ठूलो अस्पताल लग्छौ भनेर बिरामी बालिकालाई अस्पताल नलगेर पुनः घरमै लगेको खुल्न आएको छ । बालिकालाई घरमा ज्वरोले झन च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा आज बिहान ५ बजेतिर उनको ज्यान गएको बताइएको छ ।

डेंगु संक्रमणका कारण शरिरमा पानीको मात्रा कम हुने, सेतो रगतको मात्रा कम हुने तथा रक्त संचार प्रणालीमा प्रत्यक्ष असर परेर बिरामीको मृत्यु हुने गरेको जिल्ला अस्पतालका प्रमुख डा.आदर्श लिम्बुले बताए । एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ। यो लामखुट्टेले दिनमा टोक्ने भएकाले त्यसबाट जोगिन पुरै शरिर ढाकिने गरी लुगा लगाउने बानी गर्नु पर्ने उनले बताए।

डेंगुको संक्रमण भएमा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता बिमिराहरू आउने र वाकवाकी लाग्नु वा वान्ता हुने जस्ता लक्षणहरु देखा पर्ने लिम्बुको भनाई छ । अहिले जिल्लामा हाल सम्म ३९ जनामा डेंगुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्लाको महाकाली नगरपालिकाका २७ जनामा डेंगुको संक्रमण देखिएको छ, भने मालिकार्जुन गाउँपालिकाका ३ जना, अपिहिमाल गाउँपालिकाका २ जनामा डेंगुको संक्रमण देखिएको छ । यस्तै नौगाड गाउँपालिकाका २ जना, दुहुँ गाउँपालिकाका ३ जना र ब्याँस गाउँपालिकाका २ जनामा डेंगु रोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।


Author

थप समाचार
x