कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरद्वारा आन्दोलन फिर्ता
सुर्खेत- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा स्वास्थ्यकर्मीहरूले आन्दोलन फिर्ता लिएका छन् । डाक्टर र कर्मचारी बीचको झगडाका कारण डाक्टरहरू आन्दोलनरत थिए ।
प्रतिष्ठानमा कार्यरत डा. करण साहलाई लगाइएको मुद्दा फिर्ता लिन तयार भएपछि डाक्टरहरूले आन्दोलन फिर्ता लिएका हुन् । प्रतिष्ठानका रजिष्टार नृपेन्द्रबहादुर महतले बुधबार र बिहीबार भएको सर्वदलीय छलफलमा सहमति भएपछि आन्दोलन फिर्ता लिएर आजदेखि नियमित सेवा प्रवाह गर्न तयार भएको बताए । ‘प्रतिष्ठानमा कार्यरत डाक्टर करण साह र प्रतिष्ठानमै कार्यरत ओपिडी सहायक धनबहादुर शाही बीचको झगडाका कारण भदौ २ गतेदेखि यहाँका डाक्टर तथा स्वास्थ्यकर्मीहरू आन्दोलित थिए’ उनले भने, ‘जसका कारण दुई दिनअघिदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प थिए ।’
डा. करण साहलाई लगाइएको बाल हिंसाको मुद्दा पीडक धनबहादुर शाहीकी पत्नी आशा हमाल शाहीले फिर्ता लिन निवेदन दिइन् । श्रीमानलाई मुद्दा लगाइएकाले आवेशमा आएर अर्को मुद्दा दिएको स्वीकार गरिन् । त्यसलगत्तै सर्वपक्षीय सहमति भएर प्रतिष्ठानले शुक्रबारदेखि नियमित सबै सेवा दिने भएको छ ।
भदौ २ गते ओपिडी असिस्टेन्ट शाही आफ्ना ६ वर्षीय छोराको विद्यालय ड्रेसमा उपचार गराउन ९ बजे प्रतिष्ठानमा पुगेका थिए । उनको छोराको टाउकोमा चोट लागेर टाँका लगाइएको थियो । त्यो टाँका खोल्नु थियो । टाँका खोलेर बालकलाई विद्यालय पठाउने तयारी थियो । ओपिडी नखुलिसकेकाले उनले छोरालाई सिधैँ आकस्मिक कक्षमा उपचारका लागि लिएका थिए । उनले त्यहाँ भएका डाक्टर साहसँग छोराको सामान्य पेट दुखेको र टाउकोमा टाँका लगाइएकाले त्यसलाई काट्न आग्रह गरे ।
डाक्टरले उनलाई यस्तो सानोतिनो कुराका लागि इमर्जेन्सी वार्डमा उपचार नगरिने र ओपिडी खुलेपछि उपचार गर्न जान सुझाव दिए । धनबहादुरले बारम्बार आग्रह गर्दा पनि उपचार गर्न नमानेपछि डाक्टरमाथि नै हातपात गर्न पुगेका थिए । डाक्टर र कर्मचारी बीचको उक्त लफडा अहिले प्रतिष्ठानकै समस्याका रूपमा झाँगिदै गयो ।
जुम्ला जिल्ला अदालतले प्रतिष्ठानमा कार्यरत डा. साहलाई पक्राउ पुर्जी जारी गरेपछि त्यसको विरूद्धमा संस्थाका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेका थिए । आइतबार डा. साहमाथि बाल हिंसा गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता भएको थियो । प्रहरीले जाहेरीका आधारमा चलाएको प्रक्रियाअनुसार अदालतले उनलाई सोमबार पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।
डाक्टरमाथि आवेगमा आएर हात हालेका धनबहादुर शाहीलाई पनि बिहीबार जुम्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । प्रतिष्ठानले छानबिन समिति गठन गरी हातपात गरेका कर्मचारी शाहीलाई ४५ दिनका लागि निलम्बन गरेको छ ।
यता प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलका अनुसार डाक्टरमाथि लगाइएको बाल हिंसाको मुद्दा फिर्ता लिनका लागि सहमति भएपछि आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीहरू आजदेखि नियमित काममा फर्किएको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया