कुष्ठरोगसम्बन्धी विभेदकारी कानुन संशोधन गर्न माग
फाइल फोटो
काठमाडौँ - कुष्ठरोगसम्बन्धी विभेदकारी कानून संशोधन गर्न माग गरिएको छ । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाको आयोजनामा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले कुष्ठरोगसम्बन्धी विभेदकारी कानुन संशोधन गर्नुपर्ने बताएका हुन् ।
मुलुकी देवानी (संहिता) ऐन, २०७४ भाग–३ पारिवारिक कानून परिच्छेद–१ विवाहसम्बन्धी व्यवस्थाको ७१ अन्तर्गत विवाह गर्न, गराउन नहुने व्यवस्थाको (ग) बुँदामा पूर्णरूपमा बोल्न वा सुन्न नसक्ने, पूर्णरूपमा दृष्टिविहीन वा कुष्ठरोगी भएको व्यक्तिले विवाह गर्न/गराउन नहुने व्यवस्था गरेको छ ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेलले उक्त कानूनले कुष्ठरोगीको मानवअधिकारको हनन गरेको भन्दै उक्त कानून तत्काल संशोधन गर्नुपर्ने बताए । `कुष्ठरोगीलाई भेदभाव गर्ने खालको कानूनलाई तत्काल संशोधनका लागि आयोगले कानुन मन्त्रालय र कानुन आयोगलाई सिफारिस गरिसकेको छ, मानव अधिकारलाई हनन हुने कुनै पनि गतिविधि कोही कसैबाट गर्न हुँदैन`, उनले भने ।
सर्वोच्च अदालतका सहरजिष्ट्रार बाबुराम दाहालले कुष्ठरोग सामान्य उपचारबाट निको हुने भएकाले कुष्ठरोगीलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे । `कानुनको द्वन्द्वमा फसेका कुष्ठरोगीलाई सहयोग गर्नका लागि सर्वोच्च अदालतले निःशुल्क कानुनी परामर्श गर्दै आइरहेको छ`, उनले भने ।
नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले कुष्ठरोगीसम्बन्धी विभेदकारी कानुन हटाउनका लागि संसद्को ध्यानाकर्षण गर्नुपर्ने बताए । स्वास्थ्य मन्त्रालय, नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख सहसचिव डा कृष्ण पौडेलले मन्त्रालयले कुष्ठरोग नियन्त्रण गर्न र यससम्बन्धी बनेको कानुन परिमार्जन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आएको बताए ।
द ल्याप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाखर कँडेल, द ल्याप्रोसी मिसन ट्रष्ट भारतका पैरवी प्रमुख निकिता शेरा, आइडिया इन्टरनेशनलका ग्लोबल नेटवर्क कोअर्डिनेटर अमरबहादुर तिमल्सिनालगायतले कुष्ठरोग सामान्य रोग भएको र छ महिनादेखि एक वर्षसम्म औषधि सेवन गर्दा निको हुने भएकाले यसलाई ठूलोरूपमा हेर्न नहुने धारणा राखेका थिए ।
स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा रवीन्द्र बाँस्कोटाले शीघ्र पहिचान र बहुऔषधिको प्रयोगले कुष्ठरोग पूर्णरूपमा निको हुने भए पनि निवारण गर्न कुष्ठरोगप्रतिको लाञ्छना र सामाजिक भेदभाव प्रमुख बाधक बनेको बताए । सूक्ष्म जीवाणुका कारण लाग्ने कुष्ठरोग ढिलो गरी पहिचान हुँदा धेरै व्यक्ति अपाङ्ग हुने गरेको उनको भनाइ छ । हाल नेपालमा कुष्ठरोगका कारण ३० हजार व्यक्ति अपाङ्गता भएको सरकारी तथ्यांक छ ।
उपचार नगरेको कुष्ठरोगी बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई स्वासप्रस्वासको माध्यमबाट कुष्ठरोग सर्ने गरेको नो ल्याप्रोसी रिमेन्सका कार्यकारी निर्देशक विकासमान सिंहले जानकारी दिए । सिंहका अनुसार हाल नेपालमा झण्डै दुई लाख व्यक्तिमा कुष्ठरोग पत्ता लागेको र धेरैजसो बिरामी हाल निको भइसकेका छन् ।
नेपालमा प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम बिरामी रहेको पाइएसँगै सरकारले विसं २०६६ माघ ५ गते कुष्ठरोग निवारण घोषणा गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया