स्वास्थ्य

फेसवास कस्तो रोज्‍ने, कसरी लगाउने ?

इकागज |
भदौ ३१, २०७९ शुक्रबार ७:४५ बजे

हिजोआज बजारमा थुप्रै ब्रान्डका फेसवास पाइन्छन् । जसको कारण धेरैजना मानिसहरू कस्तो प्रकारको फेसवासको प्रयोग गर्ने भनेर दोधारमा पर्छन् । धेरैलाई आफ्नो छालालाई कस्तो प्रकारको फेसवास सुहाउँदा भन्ने समेत जानकारी हुँदैन । फेसवास प्रयोग गर्दा मानिसहरूले थुप्रै गल्ती गरिरहेका हुन्छन् । त्यसैले यस्ता कुरामा ध्यान दिनुपर्छ । 

फेसवास गर्दा गरिने गल्ती
फेसवास गर्दा हामीमध्ये धेरैले छाला सफा होला, धुलो जाला भनेर घोटी–घोटी गर्छौँ । यो एकदमै गलत बानी हो । यसले छाला बचाउने प्रक्रिया ‘स्किन ब्यारियर’लाई गडबढ गरिदिन्छ । यस्तो अवस्थामा एलर्जी गराउने तत्व वा किटाणुहरू, जसमा डन्डीफोर बनाउने किटाणु पनि पर्दछ, यिनीहरूको मात्रा बढ्छ । त्यही भएर छाला घोट्नुहुँदैन । बरु एक दुई मिनेट समय लगाएर छालालाई बिस्तारै सफा गर्नुपर्छ ।


धेरैजसोलाई स्क्रब गर्ने फेसवास मनपर्छ । त्यसले मज्जाले छाला सफा गरेको जस्तो लाग्छ । तर, स्क्रब फेसवासहरू नियमित प्रयोग गर्नुहुँदैन । प्रयोग गर्दा हप्तामा एकपटकभन्दा बढी गर्नु हुँदैन । यसले पनि स्क्रिन ब्यारियरलाई गडबढ गरिदिन्छ ।

दिनमा कतिपटक मुख धुने ? यो सबैको मनमा आउने प्रश्न हो । प्रायः मानिसहरूलाई दिनमा दुईपटक मुख धोए पुग्छ । धेरै पटक मुख धुँदा छाला सुख्खा हुन्छ । यदि पसिना आएको छ, जिम वा मर्निङ वाकबाट फर्किएको छ र छाला फोहोर छ भने दिनमा तीन पटकसम्म मुख धुन सकिन्छ । सादा पानीले मुख धुँदा धेरै असर नगर्ला भन्ने पनि लाग्छ । तर, सादा पानीले पनि मुख धोयो भने असर गर्छ ।

धेरै तातो पानीले मुख धुनु हुँदैन । त्यसले हाम्रो छालाको म्वइस्चरलाई गडबढ गरिदिन्छ । छालाको लागि सबैभन्दा राम्रो पानी मनतातो पानी हो । धेरैको टावेलले मुख घोट्ने बानी हुन्छ । यो पनि नराम्रो बानी हो । आफ्नो मुख पुछ्ने टावेल छुट्टै हुनुपर्छ । यो शरीर पुछ्ने टावेलभन्दा फरक भएको राम्रो ।  अनुहार पुछेपछि पुरै पानी सुक्नुभन्दा पहिला नै म्वइस्चराइजर लगाउनुपर्छ । बाँकी रहेको पानी म्वइस्चराइजरसँग मिल्दा छाला सुख्खा हुन पाउँदैन । 

कस्तो छालालाई कस्तो फेसवास ?
सुख्खा छाला 
सुख्खा छालामा म्वइस्चर र तेल कम हुन्छ । त्यस्तो छालामा इरिटेसन हुने सम्भावना बढी हुन्छ । जसले गर्दा फेस रातो हुने, चिलाउने समस्या देखिन्छ । त्यस्तो खालको छालालाई नरम अर्थात् कडा केमिकल नभएको फेसवास प्रयोग गर्नुपर्छ । अल्कोहल र सोप फ्री भएको फेसवास प्रयोग गर्नुपर्छ । यस्तो छाला भएकाले दिनमा एकपटक मात्र फेसवास गर्दा राम्रो हुन्छ । त्यस्तै, धेरै फिज आउने फेसवास पनि प्रयोग गर्नुहुँदैन । त्यस्ता फेसवासमा केमिकल भएकाले छालामा एलर्जी हुन सक्छ । 

चिल्लो छाला 
यस्तो छाला भएकाहरूमा तेलका ग्रन्थीहरू बढी सक्रिय भएर छाला चिल्लो हुन्छ । त्यो ग्रन्थीको प्वाल थुनियो भने डन्डिफोर आउँछ । यस्तो अनुहारमा केमिकल भएका फेसवासहरू राम्रो हुन्छ । तर, चिकित्सकको सल्लाहमा प्रयोग गर्नुपर्छ । यस्तो छाला भएकाले पनि धेरैपटक भने फेसवास गर्नुहुँदैन । यसले छालामा तेलको मात्रा कम भएर तेलका ग्रन्थीहरू बढी सक्रिय भएर झनै असर गर्न सक्छ । 


Author

थप समाचार
x