९ दिनदेखि अनसनसरत डा. केसीले भनेः अपहरण गरेर काठमाडौँ लगे त्यसको विरुद्ध लड्छु
काठमाडौँ- चिकित्सा क्षेत्रको सुधारसहित ९ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल बनेको छ । स्वास्थ्य अवस्था दिनदिनै जटिल बनेपछि उनलाई काठमाडौँ लैजान धनगढी विमानस्थलमा हेलिकोप्टर पुगिसकेको छ ।
डा. केसी भने सेती अस्पतालमा सहज भएकाले थप उपचारका लागि बाहिर जान मानेका छैनन् । अस्पतालमा परिसरमा कैलाली जिल्ला प्रशासन कार्यालयका कर्मचारी र प्रहरी तैनाथ छन् ।
डा केसीले वार्ता सफल भएमा यतै बसेर उपचार गर्ने बताएको अस्पतालका चिकित्सक डा. अमृत जैशीले बताएका छन् । सरकारले उनलाई काठमाडौँ लैजान तयारी गरिरहेको छ ।
केसीको भनाइ उद्दृत गर्दै डा. जैशीले भने,' धनगढी एयरपोर्टमा सेनाको प्लेन आइपुगेको छ तर डा केसीले आज भने कुनै हालतमा पनि नजाने भन्नु भएको छ । यदि जबर्जस्ती गरेमा यसलाई अपहरण मान्ने र त्यसका बिरुद्ध पनि लड्ने भन्नुभएको छ ।'
अस्पतालमा परिसरमा भेला भएका सुरक्षाकर्मीले माथिको आदेश भन्दै काठमाडौँ लैजान दबाब दिइरहेका छन् । ९ दिनदेखि अनसनरत डा. केसीका समर्थकले पनि जर्बजस्ती गरेर काठमाडौँ लैजान नहुने बताइरहेका छन् ।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल, राष्ट्रिय मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखि विशेषज्ञ र विशिष्टकृत अस्पतालमा लैजान अनुरोध गरेको थियो ।
मागहरू
१) स्वास्थ्य सेवामा सुधारका लागिः
तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस्।
जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित गरियोस्।
संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस्।
सरकारले तोकेको सुची अनुसारका सबै निःशुल्क औषधि आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस्।
स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस्। देशभर दिगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस्।
सरकारी स्वास्थ्य संस्थाहरूका वरिपरि च्याउझैं खुलेका तर मापदण्ड नपुर्याइ जथाभावी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्थाहरु बन्द गरेर दोषीहरुलाई दण्डित गरियोस्। प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य सेवा कार्यालय र अस्पतालहरुलाई गैर चिकित्सक नभई चिकित्सकहरुको मात्र नेतृत्व दिने व्यवस्था गरियोस्।
२. स्वास्थ्य विज्ञान प्रतिष्ठासम्बन्धी छाता ऐन जारी गरियोस्। आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गरियोस्। विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पुर्ति गर्दै दाङ लगायत मधेश र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गरियोस् ता कि चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउन्। यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाइयोस्।
३. सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस्।
४. प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गरियोस्। भागवण्डाका आधारमा अनियमिततापूर्वक हालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका नियुक्तिहरु तत्काल सच्याइयोस्। प्रतिष्ठानका उपकुलपति लगायतका भ्रष्ट पदाधिकारीहरुलाई बर्खास्त गरी कारवाही गरियोस्।
५. चिकित्सा शिक्षा ऐन बमोजिम विसं. २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर–नाफामुलक बनाउने व्यवस्थाको कार्यान्वयन गरियोस्। मापदण्ड नपुगेका नर्सिंङ कलेजमा भर्ना खुलाउनका लागि चिकित्सा शिक्षा ऐनमा गर्न लागिएको संशोधन प्रयास तत्काल बन्द गरियोस्।
६. चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हुँदै आएको हस्तक्षेप रोकी तत्काल कर्मचारी नियुक्तिका लागि सांगठनिक संरचना मन्त्रीपरिषद्बाट पारित गरियोस्। निःशुल्क स्नातकोत्तर कार्यक्रमका लागि सरकारले दिने गरेको बजेट रोकिएकोमा तत्काल सुचारु गर्दै सो बजेट चिकित्सा शिक्षा आयोगमार्फत सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानमा पठाउने व्यवस्था गरियोस्।
७.जलवायु परिवर्तनको मार र खनिज ऊर्जा निर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रयोग र विस्तार गर्ने व्यवस्था गरियोस्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया