स्वास्थ्य

घट्न थाले डेंगुका बिरामी

इकागज |
असोज २२, २०७९ शनिबार १६:२५ बजे

काठमाडौँ- जाडो याम शुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामीहरु कम हुँदै गएका छन् ।  काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैँ शुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेंगुका बिरामीहरु कम हुँदै गएको हो ।

डेंगुको संक्रमण खास गरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । दशैँ अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडो याम शुरु भएसँगै डेंगुको संक्रमण कम हुँदै गएको र बिरामीहरु पनि कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।


उनका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत छन् भने एक जना आईसीयूमा उपचाररत छन् । त्यस्तै इमर्जेन्सीमा करिव ७० जना दैनिकजसो उपचारका लागि आइरहेको उनले बताए । सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवारोगका बिरामीहरु भने यस वर्ष विगतको तुलनामा कम रहेको बताए।

उनले दशैँको बेलामा अस्पतालले डेंगु बढ्ने भन्ने अनुमान गरेर आवश्यक तयारी गरेपनि बिरामीहरु कम भएको बताए । सबैले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, घर वरपर पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा डेंगीबाट बच्न सक्ने बताए । उनले डेंगुको प्रकोप अझै रहने भएकाले केही समयसम्म सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे । 

उनले भने, ‘अहिले हामीले डेंगीको प्रकोप झेलिरहेका छौँ । अस्पतालमा साधारण बेडमा ११ जना भर्ना भएर उपचाररत छन्। आइसीयूमा एकजना छन् । इमर्जेन्सीमा करिव ७० जना दैनिकजसो आइरहेका छन् । अरु सरुवा रोगहरु कम नै छ । असोजको मध्यतिर पनि सर्पदंशका बिरामीको संख्या बढी छ, कम भएको छैन । ५ जना भर्ना भएर उपचाररत छन् ।

डेंगीका बिरामीको संख्या भने पहिलाको भन्दा केही घटेको छ । दशैँमा हामीले जसरी डेंगु बढ्छ भनेर अनुमान गरी तयारी गरेका थियौँ । त्यो अनुसार भने बिरामी बढेनन्। त्यसलाई राम्रो नै मान्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा हामी डेंगीबाट बच्न सक्छौँ । नेपाल सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आवश्यक छ ।’

सूचना अधिकारी गौतमले विगतको वर्षमा भन्दा यस वर्ष सर्पदंशका बिरामीहरु भने बढीरहेको बताए । गत वर्षहरुमा असोज महिनाबाट सर्पदंशका बिरामीहरु धेरै नआएको तर यस वर्ष भने हाल पनि ५ जना सर्पदंशका बिरामीहरु अस्पतालमा उपचाररत रहेको बताए । यद्यपी  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने देशभर भएको केही दिनको निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढेकाले सतर्क रहन आग्रह गरेको छ । 
 


Author

थप समाचार
x