स्वास्थ्य

निर्वाचनको भिडभाडले नयाँ भेरियन्ट फैलिनसक्छ, सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय

इकागज |
कात्तिक २२, २०७९ मंगलबार १२:१७ बजे

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचनकेन्द्रित गतिविधिमा भिडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रमहरूमा भिडभाड गर्दा कोभिड १९ को संक्रमण दर बढ्नसक्ने बताए । देशमा कोभिड संक्रमण दर धेरै नभए पनि संक्रमणको अवस्था भने यथावत रहेको उनको भनाइ छ । 


उनले भिडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरू पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउनु जरुरी रहेको बताए । डा. अधिकारीले कोभिड १९ विरुद्धको खोप नलगाएका व्यक्तिहरूलाई भिडभाड हुने ठाउँमा नजान पनि आग्रह गरे । 

‘ठूलो मात्रामा मानिसहरू एक ठाउँ भिडभाड हुनु भनेको सामान्य अवस्थामा पनि जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण नै मान्छौँ । त्यसमा एउटा मानिसमा भएको कुनै पनि किसिमको संक्रमण अरु मानिसमा थप जानसक्छ । त्यसले गुणात्मक रुपमा वृद्धि भएर धेरै मानिसलाई प्रभाव पार्नसक्छ भन्ने हिसाबले हामीले धेरै मानिसको भिडभाड हुने कुराहरूलाई जनस्वास्थ्यको हिसाबले निकै ठूलो चासोको रुपमा लिइन्छ र निगरानी गरिन्छ,' उनले भने, 'अझ कोभिड १९ को महामारी हामीले भोगेको अवस्था र हामीसँग संक्रमण अहिले पनि रहिराखेको अवस्था छ, विश्वका विभिन्न ठाउँहरूमा नयाँ भेरियन्टहरू देखिराख्ने अवस्था सबै अवस्थालाई हेर्दाखेरी हाम्रो भिडभाड हुने गतिविधिहरूलाई हामीले एकदमै सावधानीका साथ अगाडी लिएर जानुपर्छ । जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नसक्ने, ख्याल गर्न सकिने ठाउँहरूमा विशेष रुपमा ख्याल गर्नुपर्ने हुन्छ ।’

उनले विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेको बताए । देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उनको भनाइ छ । तर पनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानि अपनाउनुपर्ने उनले स्पष्ट पारे । देशमा अहिले ६ सयको हाराहारीमा कोभिड १९ का संक्रमितहरू रहेको बताए । 

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीका अनुसार अहिलेसम्म ६ करोड भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ । उनले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए । 


Author

थप समाचार
x