स्वास्थ्य

कोभिड–१९

‘यूके भेरियन्ट’ संक्रमितको ‘डेथ ट्रेन्ड’

पहिलो दिन जनरल बेडमा, दोस्रो अक्सिजनमा, तेस्रो आइसियुमा, चाैँथो भेन्टिलेटरमा अनि मृत्यु

इकागज |
बैशाख ९, २०७८ बिहीबार १८:४६ बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 'यूके भेरियन्ट'को असर नेपालमा आक्रमक रुपमा देखा परेको खुलाएको छ । बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमितहरूको अवस्था गम्भीर देखिएको बताएका हुन् ।  

सचिव अर्यालका अनुसार पछिल्लो केही दिन काठमाडौँका अस्पतालमा आएका कोभिड–१९ संक्रमितको स्थिति छिटोछिटो क्रिटिकल अवस्थामा पुग्ने गरेको छ । उनले भने,‘पछिल्लो समय हामीले टेकु हस्पिटल, पाटन हस्पिटललाई हेर्दा खेरी बिरामी असाध्यै सिकिस्त भएपछि अस्पताल आउने, पहिलो दिनमा उहाँहरू जनरल बेडमा हुने, दोस्रो दिनमा अक्सिजनमा जाने, तेस्रोमा आइसियुमा, चौथोमा भेन्टिलेटर र त्यसपछि एक दुई दिन भित्र बिरामीहरू मरिरहेको अवस्था देखिन्छ । यति छिटो संक्रमण बढिराखेको छ ।’


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिनासम्ममा तीन लाख नेपालीमा कोभिड-१९ संक्रमण देखा गर्ने आकलन गरेको छ । मन्त्रालयले कोभिड-१९को यूके भेरियन्टको संक्रमण दर उच्च रहेको र यहाँ युके भेरियन्ट देखा परेका कारण तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको मन्त्रालयले जनाएको हो । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् । उनका अनुसार ३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ । 

सोही अनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताए । उनले भने,‘असारसम्ममा करिब मध्यम परिदृष्यमा पनि हामीसँग ३ लाखको इन्फेक्सन आउँछ भन्‍ने छ, ३ लाख संक्रमित हुँदा करिब ६० हजार बिरामीहरू अस्पताल आउनुपर्छ भन्‍ने देखिन्छ, अस्पतालभित्र आउनुपर्ने ६० हजार बिरामीमध्ये ३० देखि ३५ हजार बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था पछिल्लो १०/१५ दिनको तथ्यांक विश्लेषण गर्दा देखिन्छ भने १५ हजार बिरामीको लागि नाजुक उपचार (आइसीयू) चाहिने अवस्था देखिन्छ ।’ 

गत वर्ष देखिएको भेरियन्टमा एक जना संक्रमितले अरु चार पाँच जनामा सार्न सक्ने भएपनि अहिलेको भेरियन्टमा एक जनाले ४० देखि ७० जना सम्मलाई सार्न सक्ने देखिएको छ  । जुन भेरियन्ट युके भेरियन्ट नै रहेको पुष्टि भइसकेको पनि सचिव अर्यालले बताए । मन्त्रालयले चालू आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब ८ अर्ब रुपैयाँ खर्च गरेको छ । जसमा पीसीआर कीट, एक्स्ट्राक्सन कीट, भाइरल ट्रान्सपोर्ट मिडिया (भी.टी.एम.), एन्टीजेन कीट, मास्क, गाउन, सर्जिकल पञ्जा, अक्सिजन प्रणाली सुदृढीकरण, आई.सी.यू., एच.डी.यू., तथा अन्य औषधि उपकरणहरुको व्यवस्थापन, स्वास्थ्यकर्मीको जोखिम भत्ता, निःशुल्क परीक्षण तथा उपचार, खोप खरिद तथा अभियान सञ्चालन लगायतका कोभिड-१९ रोकथाम तथा नियन्त्रण लगायतका क्रियाकलापहरुको लागि ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको जनाएको छ । 

त्यस्तै खोप कार्यक्रम र एच.डी.यु.को लागि २ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । चालू वर्षमा मन्त्रालयलाई ५८ अर्ब ९८ करोड ४१ लख ७२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हाल सम्म २७.५४ प्रतिशत अर्थात १६ अर्ब २४ करोड, ५१ लख ८८ हजार रुपैयाँ मात्रै खर्च भएको छ । आगामी आर्थिक वर्षका लागि ६२ अर्बको सिलिङ प्राप्त भएअनुसार कार्यक्रमहरु तयार गरिएको सचिव अर्यालले बताए । 


Author

थप समाचार
x