स्वास्थ्य

विश्व मधुमेह दिवस

युवाहरूमा बढ्दै मधुमेहको समस्या

इकागज |
कात्तिक २८, २०७९ सोमबार १६:२ बजे

काठमाडौँ- आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

विश्व मधुमेह दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक र्‍याली गरी विश्व मधुमेह दिवस मनाइएको हो । अल्का अस्पताल प्रा.लि.ले विश्व मधुमेह दिवसको अवसरमा ललितपुरको जावलाखेल, सातदोबाटो, कुमारीपाटी, लगनखेल परिक्रमा गरी र्‍याली गरेको थियो । साथै अस्पतालले आजको दिन अस्पतालमा मधुमेह रोगको निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ ।


अस्पतालले आज एक दिनमा २ सय जना बिरामीहरूलाई निःशुल्क उपचार गर्ने र १० दिनसम्म पुग्ने मधुमेहको औषधिसमेत दिने बताएको छ । शिविरमा बोल्दै अल्का अस्पताल प्रा.लि.का प्रशासन प्रमुख भगवान केसीले मधुमेहसम्बन्धी दीर्घ रोगीहरूलाई लक्षित गरी शिविर सञ्चालन गरेको जानकारी दिए । उनले अस्पतालले मधुमेहसम्बन्धी बिरामीहरूका लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको र शिविरमा उल्लेख्य बिरामीहरूको चाप रहेको बताए । शिविर आज बिहान ९ बजेबाट सुरु भइ दिउँसो ३ बजेसम्म चल्ने उनले जनाए ।

त्यस्तै इण्डोक्राइनोलोजिस्ट डा.प्रियादर्शनी योन्जनले मधुमेह रोग लागेका ३५ प्रतिशत बिरामीहरूमा आँखाको समस्या हुने गरेको भन्दै सतर्कता अपनाउन आग्रह गरे । उनले पछिल्लो समय तीव्र रूपमा मधुमेहका बिरामीहरूको संख्या बढिरहेकाले त्यसतर्फ सबै जनाले सतर्कता अपनाउन जरुरी रहेको बताए । उनले अहिले विश्वभरी ५३ करोडभन्दा बढी मानिसहरूलाई मधुमेह भइसकेको र अबको १० देखि १५ वर्षमा मधुमेहको समस्या झनै बढ्ने उल्लेख गरे ।

उनले नेपालमा पनि ८ प्रतिशत मानिसमा मधुमेहको समस्या देखिएको जनाए । अहिले ३० वर्षभन्दा माथिका मानिसहरूमा यो समस्या धेरै देखिन थालेको उनको भनाइ छ । खानपानमा ध्यान नदिने, जङफुडहरू बढी खाने र शारीरिक कसरतको कमीका कारण युवाहरूमा पनि मधुमेहको समस्या बढ्दै गएको बताए । मधुमेह नियन्त्रणमा गर्न नसके आँखाको समस्या चाँडै देखिने भन्दै उनले ३० वर्षभन्दा माथिका हरेक मानिसहरूले हरेक वर्ष सुगर परीक्षण गर्नुपर्ने जिकिर गरे । योन्जनले मधुमेह हुँदा बढी तिर्खा लाग्ने, पिसाब लाग्ने, तौल कम हुने लगायतका समस्या हुने पनि बताए ।

डा. योन्जनले मधुमेहको समस्या भएका बिरामीहरूले  ६/६ महिनामा परीक्षण गर्नुपर्ने बताए । उनले मधुमेहका बिरामीहरूले हरेक एक महिनामा आँखा अस्पताल वा डाक्टरलाई आँखाको पर्दा चेक गराउन र औषधिहरू समयमा नै खान सुझाव दिए । 


Author

थप समाचार
x