स्वास्थ्य

भारतको तथ्यांकलाई हेरेर डराउने कि चीनको तथ्यांकलाई हेरेर पाठ सिक्ने ?

इकागज |
बैशाख १३, २०७८ सोमबार ६:१८ बजे

काठमाडौँ : कोभिड-१९ को दोस्रो लहरले मुलुकलाई आक्रान्त बनाउँदै लगेको छ । दैनिक हजारौँ संक्रमित फेला परिरहेका छन् । संक्रमितले अस्पतालका बेड भरिँदै छन् । यसरी नै संक्रमितको संख्या बढ्दै जाने हो भने केही दिनमै अस्पतालमा बिरामी राख्‍ने ठाँउसम्म नहुने चेतावनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिइसकेको छ ।

भारतमा कोभिड-१९ को दोस्रो लहरले पुर्‍याएको क्षति देखेर नेपालको मन्त्रालय पनि तर्सिएको छ । लाखौँको संख्यामा फेला परेका संक्रमित, उच्च रहेको मृत्युदर र अक्सिजन लगायत उपचार सामग्रीको अभावले छट्पटिएका बिरामीसँगै तिनका आफन्तको अवस्था दयनीय छ । मृतकलाई जलाउन÷गाड्न नै ठाउँको अभाव भएका दृश्य विभिन्‍न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् ।


भारतको अवस्था देखेर नेपालमा पनि त्यस्तै भयावह अवस्था आउन सक्ने भन्दै मन्त्रालयले नागरिकहरूलाई मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हातको सरसफाईमा ध्यान दिन वा सचेत रहन आग्रह गरिरहेको छ । हालसम्म कोभिडको उपचार गर्नसक्ने कुनै पनि औषधि वा उपाय चिकित्सा विज्ञानले विकास गर्न नसकेकोले संक्रमण रोकथामको लागि नेपाल सरकारले तोकेका मापदण्डहरु निर्विकल्प उपाय अपनाउन आग्रह गरेको छ ।  

नेपालको एक छिमेकी कोभिड-१९ को दोस्रो लहरले आक्रान्त बनिरहेका बेला, अर्को छिमेकी चीनमा भने भारतको तुलनामा कम संक्रमित छन् । वर्ल्डमिटर्स डट इन्फोको तथ्यांक अनुसार २५ अप्रिलमा चीनमा जम्मा तीन सय आठ जना संक्रमित (यो समाचार तयार पार्दासम्म) छन् । तिमध्ये तीन सय चार जना सामान्य अवस्थामा छन् भने चार जना गम्भीर अवस्थामा छन् ।  

यो समाचार तयार पार्दासम्ममा नेशनल हेल्थ कमिनस अफ द पिपुल्स रिपब्लिक अफ चाइनाले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा चीनमा १३ नयाँ कोभिड संक्रमित फेला परेका छन् । त्यस्तै भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५४ हजार ५३१ जना संक्रमित भएका छन् । त्यस्तै कोभिड-१९ को कारणले दुई हजार ८ सय ६ जनाको मृत्यु भएको छ । 

भारतको तथ्यांकले त्रसित बनाउँछ भने चीनको तथ्यांकले केही आशाका बाटाहरू खोलिदिएको छ । कोभिड नियन्त्रणमा चीनले चालेको कदमबाट केही सिक्ने हो भने नेपालमा पनि कोभिड संक्रमितको संख्या कम गर्न राहत मिल्न सक्छ ।

भारतको तुलनामा चीनको जनसंख्या बढी छ । तर चीनले लामो समयदेखि प्रभावकारी रूपमा कोभिड-१९ को संक्रमणको दर नियन्त्रण गर्न सफल भइरहेको छ । यो यत्तिकै सम्भव भने भएको होइन । विश्वले २०१९लाई विदाइ गरी २०२० लाई स्वागत गर्दै न्यू इयर इभ मनाइरहेका बेला चीनले पहिलोपटक विश्व स्वास्थ्य संगठनलाई यस रोगबारे जानकारी दिएको थियो । चीनको वुहानमा थुप्रै मानिसहरू ज्वरो, निमोनिया लगायत रोगहरूबाट ग्रसित हुनथालेपछि संगठनलाई जानकारी दिइएको थियो । नागरिकहरूमा त्रास फैलने डरले सुरूमा यस रोगबारे गोप्य राखिएको थियो । तर यस रोगले सडकमै मानिस ढल्न थाले । स्थिती झनै भयावह हुन थालेपछि भाइरसलाई नियन्त्रण गर्न कडा लकडाउनको घोषणा गर्‍यो । यस समस्यालाई समाधान गर्न राष्ट्रपति सी जीन पिंगले सबै स्रोत साधनको परिचालन गरे ।  

साधारण जनसमुदायस्तरमा बनेका स-साना समितीहरूले महत्वपूर्ण भूमिका खेले । यद्यपी आधिकारिक रूपमा यी समितिहरू राज्यको हिस्सा थिएनन् । स्वतःस्फूर्त रूपका तयार भएका यस्ता समिति प्रभावकारी शासन र राजनीतिक नियन्त्रणको लागि पार्टीका उपकरण हुन् । तिनीहरू प्रशासनीक कार्यहरू गर्ने, नीति कार्यान्वयन गर्ने, स्थानीय विवादहरूको मध्यस्थता गर्ने, सरकारी निकायलाई सार्वजनिक स्थानको निगरानी गर्न सहयोग गर्ने, स्वास्थ्य तथा सरसफाइमा चेतना फैलाउने देखि बृद्धबृद्धाको हेरचाह आदिसमेत गर्थे ।  

महामारीको सूरूवाती दिनमा अन्यौल सिर्जना भएपनि पछि भने यी समितीहरूका साथै अन्य व्यक्तिले पनि स्वेच्छाले कोभिड नियन्त्रणको लागि कदम चाले । उदाहरणका लागि, चीनको ७ हजार १ सय ४८ समुदाय बन्द भए । सामुदायिक मजदुरहरूलाई हिँडडुल गर्न कडाइ गरियो । मेडिकल लगायत अत्यावश्यक सामग्री लिन बाहेक अन्य कामको लागि हिँडडुल गर्न सर्वसाधारण वा वासिन्दालाई मनाही गरियो । समुदायमा मानिसहरूलाई निगरानी गर्न स्वयंसेवकहरू खटाइयो । आफु र आफ्‍नो परिवारका सदस्यको स्वास्थ्य अवस्था जानकारी दिनको लागि फोन सेवा उपलब्ध गराए । साथै समुदायका मानिसको स्वास्थ्य जाँच गर्न घरघरमा स्वास्थ्यकर्मी खटाए । तीनले समुदायका मानिसहरूको यात्रा विवरण समेत संकलन गरे । यदि कोही विरामी रहेको वा स्वास्थ्य उपचारको आवश्यकता रहेको भए उनीहरूलाई स्थानान्तरण समेत गरे । 

त्यस्तै यी समितीका सदस्यले सेल्फ क्वारेन्टाइनमा बसेका वा बृद्धहरूलाई खानेकुरा सप्लाई गरे । यी समितीमा स्कुल कलेजमा अध्ययनरतका साथै पार्टीका सदस्यहरूले पनि स्वंयसेवकका रुपमा खटे । यही मोडल चीनभरीका अन्य क्षेत्रले पनि पछ्यायो । 

राष्ट्रपति सीको नेतृत्वले फ्रन्टलाइनमा खटिनेहरूको प्रयासलाई सराहना गर्दै तिनीहरूको लागि अनुदान, स्वास्थ्य उपकरणको व्यवस्था, बीमा, तथा अन्य संस्थागत सहयोग गर्ने निर्णय गर्‍यो । यो खुसीको कुरा थियो । तर अर्काेपट्टी विकराल समस्याले पनि जन्म लिँदै थियो । स्वास्थ्य सामग्रीको अभाव, खाद्यान्यको अभाव जस्ता समाचार पनि छ्यास्छ्यास्ती आइ नै रहेका थिए । स्वयंसेवकका रूपमा खटिएकाहरूकै शारीरिक एवं मानसिक स्वास्थ्य धरमराउन थाल्यो । निराशाको वातावरण बन्‍न थाल्यो ।   

प्रक्रिया र प्रशिक्षणको अभावले प्रशासनीक प्रणालीमै असर पुर्‍याइरहेको थियो । तर यी सबै समस्याका बावजुद पनि महामारी सफलतापूर्वक नियन्त्रणमा ल्याउन सफल भयो चीन । वुहान र चीनमा कोभिड संक्रमण नियन्त्रण गर्न सफल भएको बेलाको सेलिब्रेसनका तस्बीरले विश्वका अन्यत्र क्षेत्रमा पनि ठूलो आशा जगाइदियो । 

निसन्देह, भारतको अवस्था दयनीय छ । नेपालको पनि त्यस्तै बन्‍ने क्रममा रहेको आभाष हुन थालेको छ । माथि कोभिड संक्रमण नियन्त्रण गर्न ‘चिनियाँ मोडल’ अपनाउन सकेमा भारत र नेपालले पनि यो जोखिमबाट पार पाउन सक्छ । 

नेपालको गाउँ वा सहरी क्षेत्रमा विभिन्‍न संघसंस्था छन् । चीनमा प्रयोग भएका समिती जस्तै नेपालमा पनि संघसंस्थालाई परिचालन गर्न सकिन्छ । यद्यपी यसको लागि भने केन्द्रीकृत योजना नै चाहिन्छ, जुन यो मोडलको मुख्य पक्ष हो । जसको लागि केन्द्रदेखि स्थानीय तहसम्म समन्वय हुनु आवश्यक छ । सर्वसाधारणलाई पनि यसबारेमा जानकारी हुनु आवश्यक छ । जानकारी बिना नै स्वयंसेवकले रोकतोक गर्न थाल्यो भने समाजमा विद्रोह सिर्जना हुन सक्छ । 

सचेतना फैलाउनको लागि, सामाजिक दूरी कायम गरी सरकारले निदृष्ट गरेको नियम पालना गराउन यस्ता स्वयंसेवकको परिचालन धेरै उपयोगी हुन सक्छ । यस महामारीको प्रकृतिलाई ध्यानमा राख्दै केन्द्रीय नेतृत्वले देशभरि नीतिगत उपायहरू अगाडि बढाउन र समन्वय गर्न आवश्यक छ । नेतृत्व वर्ग नै उदाहरणीय रूपमा प्रस्तुत हुन जरूरी छ । महामारी र आर्थिक विनासको चपेटामा परेका मानिसलाई राजनीतिक खिचातानीले फाइदा पुर्‍याउँदैन ।
(चीनको बेइजिङस्थित पेकिङ विश्वविद्यालयबाट चिनियाँ राजनीतिमा स्नातक गरेका श्रुति जारगडले भारतको सन्दर्भमा लेखेको लेखलाई नेपालको सन्दर्भमा इकागजकी सुनिता साखकर्मीले भावानुवाद  गरेकि हुन् )  

(नोट : भारतको तथ्याङ्क सच्‍चाइको छ । सं)


Author

थप समाचार
x