स्वास्थ्य

कोभिड कहर : मकवानपुरमा २४३ आइसोलेसन बेड तयारी अवस्थामा

इकागज |
बैशाख १४, २०७८ मंगलबार २१:१४ बजे

हेटौंडाः मकवानपुरमा २४३ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । जिल्लाको नौ स्थानीय तहमा २४३ बेडको आइसोलेसन वार्ड तयारीे अवस्थामा रहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिएका छन् । हेटौंडा उपमहानगरपालिकाले गौरिटारमा १५ बेडको आइसोलेसन संचालन गरेको छ । अहिले गौरिटार आइसोलेसनमा दुई संक्रमित बसेका छन् । गौरिटार आइसोलेसनमा १२० बेडको क्षमता भएपनि अहिले १५ बेडमात्र संचालनमा ल्याइएको छ । संक्रमितको संख्या बढ्दै  गएमा १५० बेडसम्म संचालन गर्न सकिने जिसस मकवानपुरका प्रमुख खुलालले बताए । 

यस्तै थाहा नगरमा २० बेड, मनहरीमा २४, मकवानपुरगढीमा १५, बागमतीमा १० र बकैयामा २० बेड आइसोलेसन तयारी अवस्थामा राखिएको छ ।राक्सिराङ गाउँपालिकामा भने १० दिनभित्र २४ बेडको आइसोलेसन संचालनमा आउने उनले बताए । यस्तै भीमफेदी गाउँपालिकामा भने आइसोलेसन स्थान अभावको कारण हालसम्म तयार हुन सकेको छैन भने कैलाश गाउँपालिकामा चिकित्सक नहुँदा १० बेडको आइसोलेसन तयारी अवस्थामा रहेपनि संचालनमा आएको छैन । 
हेटौंडा अस्पतालमा १० बेडको कोभिड–१९ उपचार कक्ष संचालनमा आइसकेको छ । यस्तै २० बेडको आइसोलेसन कक्ष बनिरहेको छ । अहिले ८ जना  गम्भिर संक्रमितको उपचार कोभिड–१९ उपचार कक्षमा भइरहेको छ । 


जिल्लाको मनहरी गाउँपालिकाको आइसोलेसनमा अक्सिजन प्लान्ट राखिएको छ भने अन्य स्थानीय तहहरुलाई पनि अक्सिजन प्लान्ट खरिद गर्न आग्रह गर्ने जिसस प्रमुख खुलालले बताएका छन् । उनले जिल्लामा कोभिड नियन्त्रण तथा रोकथाम गर्न तीन रणनीति अपनाएर अघि बढेको बताए । ‘कोभिडसम्बन्धी मुख्य रुपमा मास्क प्रयोग गर्ने, साबुन पानिले हात धुने र सामाजिक दुरी कायम गर्ने जस्ता जनचेतना फैलाउने कार्यलाई पहिलो प्राथमिकतामा राखेको छौं ।’ उनले भने । जिल्लामा भएका सहकारी, टोलविकासलाई जनचेतना फैलाउन सक्रिय गराइएको छ । जिल्ला प्रवेश नाकाहरुमा ज्वरो जाँच हुने व्यवस्था तथा बजारमा भीडभाड कम हुन सवारीमा जोरबिजोर लागू गरेको उनले जनाए ।    


Author

थप समाचार
x