ड्युटी र डाक्टर : धपेडीले जान्छ ज्यान
काठमाडौँ– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय डाक्टर भानुभक्त ढकाल त्यस दिन भर्खरै उठेका थिए । एउटै फ्ल्याटमा बस्ने साथी डा. किरण श्रेष्ठ ड्युटीबाट फर्किए । फर्किनेबित्तिकै उनी सन्चो छैन भन्दै बेडमा पल्टिए । अघिल्लो दिन बिहान ७ बजेदेखि ड्युटीमा गएका साथी एकैचोटि भोलिपल्ट बिहान ७ बजे आउँदा थकाइ लाग्यो होला भन्ने डा. ढकाललाई लाग्यो । तर, अवस्था उनले सोचे जस्तो भएन । ‘त्यसको केही क्षणमै उहाँ लामो–लामा स्वास फेर्न थाल्नुभयो,’ उनले भने, ‘एकैछिनमा अचेत भएपछि हामीले हत्तपत्त अस्पताल लग्यौँ । त्यसको केही क्षणमै उहाँको मृत्यु भयो ।’ यो मंसिर २१ गतेको घटना हो ।
२७ वर्षीय डा. श्रेष्ठ प्रतिष्ठानको सर्जरी विभागमा कार्यरत थिए । उनी गत जेठदेखि चिकित्सा शिक्षा स्नातकोत्तर(एमएस) प्रथम वर्षमा अध्ययनरत थिए । उनको मृत्यु हृदयघातका कारण भएको प्रतिष्ठानले जनाएको छ । मृत्यु भएको अघिल्लो दिन उनी रातभर शल्यक्रियामा संलग्न भएको प्रतिष्ठानमा कार्यरत आवासीय डाक्टरहरू बताउँछन् ।
डा. ढकाल आवासीय डाक्टरहरूले लगातार ४८ घण्टासम्म ड्युटी खट्नुपरेको बताउँछन् । ‘हाम्रो खाने, सुत्ने, उठ्ने समयको कहिल्यै ठेगान हुँदैन,’ उनी भन्छन्, ‘आवासीय डाक्टरलाई सिकाइको समय हो भनेर जति सक्दो ड्युटीमा जोतिन्छ । यसले शारीरिक समस्यासँगै मानसिक तनाव पनि निकै बढाउँछ ।’
आवासीय डाक्टरका लागि अस्पतालमै आवासको व्यवस्था हुनुपर्छ । तर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सो व्यवस्था छैन । प्रतिष्ठानले तीन वर्षअघि चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलको स्वीकृति लिएर एमडी/एमएस शिक्षण सुरु गरेको थियो ।
‘हामी आवासीय डाक्टरहरू नामको मात्र आवासीय हौँ,’ डा. ढकाल भन्छन्, ‘आवासीय डाक्टरहरूका लागि अस्पतालमै आवासको व्यवस्था छैन । बाहिर टाढा–टाढा डेरा लिएर बस्नुपर्ने बाध्यता छ । डा. किरणलाई अस्पतालमै बस्ने व्यवस्था भएको भए सायद उहाँलाई बचाउन सकिन्थ्यो होला ।’
कामको चापका कारण डा. किरणको मृत्यु भएको भन्दै प्रतिष्ठानका आवासीय डाक्टरहरू अहिले आन्दोलनमा छन् । घटनाको अनुसन्धान हुनुपर्ने र काम गर्दागर्दै मृत्यु भएका डाक्टरको परिवारलाई राहत उपलब्ध गराउनुपर्ने लगायत १० बुँदे माग उनीहरूले राखेका छन् ।
आवासीय डाक्टरको शारीरिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सा शिक्षा आयोग लगायत निकायमार्फत ड्युटी आवर निर्धारण गर्नुपर्ने माग उनीहरूको छ । अस्पतालभित्रै आवास, विश्राम गर्ने कक्षको व्यवस्था हुनुपर्ने, हप्तामा ४८ घण्टाभन्दा बढी हुन आएको श्रम बराबरको मूल्य अन्तर्राष्ट्रिय श्रम कानुनअनुसार भुक्तानी गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।
प्रतिष्ठानका उपकुलपति प्राडा डुकबहादुर क्षेत्री आवासीय डाक्टरका लागि आवश्यक आवास सुविधा नभएको स्वीकार्छन् । यसका लागि प्रतिष्ठानले पहल गरिरहेको उनको भनाइ छ । उनी कामको चापकै कारण डा. किरणको मृत्यु भएको कुरा भने मान्न तयार छैनन् । ‘हामीले नियमअनुसार हप्ताको ८० घण्टा मात्रै ड्युटीमा खटाएका छौँ,’ उनी भन्छन्, ‘आवासीय डाक्टरहरूले नियमितबाहेक सातामा दुई पटक २४ घण्टा ड्युटी गर्नुपर्छ । उनीहरूका लागि यो सिक्ने समय भएकाले अरुको तुलनामा केही मेहनत गर्नुपर्छ । उनीहरूको काम गर्ने, सिक्ने समय नै यही हो ।’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्य विभाग प्रमुख प्राडा मधुसूदन सुवेदी आवासीय डाक्टरहरूको ड्युटीको रुटिन मिलाएर काममा खटाउनुपर्ने बताउँछन् । ‘अरु बिरामीको सेवा गर्ने डाक्टर आफैँ बिरामी पर्याे भने उसले कसरी उपचार गर्छ,’ उनी भन्छन्, ‘डाक्टर पनि मान्छे नै हुन् मेसिन होइनन् । उनीहरूलाई काम मात्रै होइन, आराम पनि चाहिन्छ । यो कुरा हामीले बुझ्नुपर्छ ।’
मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइराला आवासीय डाक्टरहरूलाई कलेजले अनावश्यक सताउने गरेको बताउँछन् । ‘धेरै काम गराउँदैमा राम्रो काम निस्किँदैन,’ उनी भन्छन्, ‘यो विषयमा थुप्रै ऐन भए पनि कार्यान्वयन भएको देखिँदैन । यस्तो केसहरू आउँदा पनि चिकित्सा शिक्षा आयोग र सम्बन्धित अन्य निकायहरू कानमा तेल हालेर बस्छन् ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया