निःसन्तान दम्पतीका लागि अल्का अस्पतालको ५ दिने निःशुल्क स्वास्थ्य शिविर
काठमाडौँ- अल्का अस्पतालले आजबाट राष्ट्रिय स्तरको ५ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ ।
अस्पतालले मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ सेवा, आ.भि.एफ एण्ड इन्फर्टिलिटि विशेषज्ञ सेवा (निःसन्तान दम्पतीहरूका लागि) र न्युरो साइक्यिाट्रिक विशेषज्ञ सेवा शिविर सञ्चलन गरेको हो । शिविर अस्पताल परिसरमा हुने बताइएको छ । शिविरमा सहभागी बिरामीहरूले महिना दिनसम्म अस्पतालमा उपचारका लागि फलोअप गर्नसक्ने अस्पतालले बताएको छ ।
अस्पतालका प्रशासन प्रमुख भगवान केसीका अनुसार शिविरमा जाने बिरामीहरूले एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिने छ । उनले शिविरमा सहभागीहरूले एक महिनासम्म फलो अप गर्दा कुनै शुल्क नलाग्ने बताए । शिविरमा स्वास्थ्य जाँच गरिएकाहरूलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याब जाँच र औषधि वितरण गरिने उनकाे भनाइ छ ।
केसीले असहाय, अशक्त र आर्थिक अभाव भएका बिरामीहरूलाई लक्षित गरेर शिविर सञ्चालन गरेको जानकारी दिए । एमआरआई र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ । उनले शिविरबारे जानकारी गराउन रेडियो, टेलिभिजन, माइकिङ गर्ने काम भइरहेको पनि बताए ।
अस्पतालले प्रत्येक दिन शिविरमा आएका १ सयसम्म बिरामीको चेकजाँच गर्ने लक्ष्य राखेको जनाएकाे छ । शिविरमा आएका बिरामीहरूलाई १० दिनसम्मका लागि निःशुल्क औषधि उपलब्ध गराउने पनि केसीले उल्लेख गरे । आवश्यक विशेषज्ञ सेवाबाट वञ्चित भइरहेका बिरामीहरूलाई लक्षित गरेर शिविर सञ्चालन गरेको भए पनि परीक्षणका लागि अस्पतालमा पुगेका सबैले परीक्षण गर्नसक्ने उनले बताए ।
शिविरमा सहभागीहरूले शिविर अवधिभर कुनै पनि किसिमको सेवामा शुल्क बुझाउनु नपर्ने पनि उनले स्पष्ट पारे ।
शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा एक लाख छुटको व्यवस्था मिलाइएको अस्पतालले बताएको छ । शिविर पुस १८ गतेदेखि पुस २२ गतेसम्म ५ दिन चल्नेछ । शिविर कार्यक्रम बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सबै विषयमा गरी अस्पतालले दिनको ३ सयसम्म बिरामीको परीक्षण गर्ने लक्ष्य लिएको उनले बताए ।
यसअघि पनि विभिन्न समयमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया