स्वास्थ्य

नर्भिकले सुरु गर्‍यो मृगौला प्रत्यारोपण सेवा

इकागज |
पुस १८, २०७९ सोमबार १८:२४ बजे

काठमाडौँ- नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ। विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो ।

यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरेको जनाएको छ । मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीय पत्नीले दान दिएको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीय छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।​


नर्भिक अस्पतालका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मृगौला प्रत्यारोपण सेवा दिँदै आएको छ ।

मल्टिस्पेशालिटी हस्पिटल भएका कारण मृगौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने  र यस्ता केन्द्रहरुमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने अस्पतालको दाबी छ । 

यही सम्मेलन मार्फत नर्भिक इन्टरनेशनल हस्पिटलले कलेजो प्रत्यारोपण सेवा पनि बिस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाइसकेको जानकारी दिएको छ।

नर्भिक अस्पताल सन् १९९३ वर्षदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको स्वास्थ्य संस्था हो । हाल नर्भिकमा देशकै पहिलो र एक मात्र जेनेटिक ल्याब सहितको आइभिएफ (टेस्टट्यूब बेबी) सेन्टर समेत सञ्चालनमा छ ।

अत्याधुनिक उपकरणसहितको नर्भिक कस्मेटिक एण्ड डर्मा सेन्टर समेत केही महिनाअघिदेखि सञ्चालनमा आएको छ । यस्तै, नर्भिकमा विगत लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजी टिमले निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको छ । यसबाहेक सबै खालका स्वास्थ्य समस्याको उपचार हुने यस अस्पतालमा अत्याधुनिक उपकरण र देशमै चिनिएका विज्ञ चिकित्सकहरूले सेवा दिँदै आएका छन् । 


Author

थप समाचार
x