चिकित्सकको सिफारिसमा मात्रै अक्सिजन सिलिन्डर पाउने
हेटौंडा : मकवानपुरमा अब चिकित्सकको सिफारिसबिना अक्सिजनको सिलिन्डर खरिद गर्न नपाइने भएको छ । बुधबार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले चिकित्सकको सिफारिमा मात्रै अक्सिजन सिलिन्डर उपलब्ध गराउने निर्णय गरेको छ । अक्सिजन सिलिन्डर सप्लार्यसहरूले अब दैनिक बिक्रि र मौज्दातको विवरण जिल्ला प्रशासन कार्यालय मकवानपुर र स्वास्थ्य कार्यालय मकवानपुरमा बुझाउनुपर्ने भएको हो ।
यसअघि मंगलबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा रहेका तीन वटै अक्सिजन सिलिन्डर सप्लायर्सका प्रमुखसँग छलफल गरेका थिए । भारत लगायत अन्य देशमा अक्सिजन र अक्सिजनको सिलिन्डरको अभाव भएको हुँदा जिल्लामा त्यस्तो अवस्था सिर्जना हुँन नदिने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका छन् । ‘मकवानपुरको जनसंख्या धेरै छैन, पर्याप्त अक्सिजन सिलिन्डर छ’ आत्तिनु पर्ने अवस्था नभएको अक्सिजन सिलिन्डर सप्लायर्स हेटौंडाका धिरज ढुंगाना भन्छन् । उनले अस्पतालको लागि प्रयोग हुने सिलिन्डर पुग्ने मात्रामा भएको दाबी गरे ।
उनको डिपोबाट जिल्ला अस्पताल हेटौंडा अस्पालमा सात क्यूभी लिटर अटाउने ठुलो अक्सिजन सिलिन्डर ५० वटा र सानो डेढ क्यूभीको सिलिन्डर ३५ वटा गएको छ । डिपोले औद्योगिक क्षेत्र, स्थानीय तह तथा अक्सिजन आवश्यक हुनेलाई पनि बिक्रि गर्दै आएको छ । डिपो प्रमुख ढुंगानाका अनुसार जिल्लामा ३ सप्यार्स छन् । ‘सिलिन्डर अभाव भइहाले भने पनि उद्योगको सिलिन्डर लिएर पनि प्रयोग गर्न सकिन्छ ।’ उनले भने । उनले अहिले हल्लाको पछाडि नलाग्न र आवश्यक परेको व्यक्तिले मात्रै अक्सिजन सिलिन्डर लिएर जान आग्रह गरे ।
यस्तै हेटौडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले अस्पतालमा ६ वटा ठुलो अक्सिजन दैनिक रुपमा प्रयोग हुँदै आएको जानकारी दिए । अस्पतालले पनि अक्सिजन सिलिन्डर स्टक राखेको उनले बताए । अर्को सुचना नभएसम्मको लागी औद्योगिक प्रयोजनका लागि सिलिन्डर उपलब्ध नगराइने भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।
यसैगरी कोरोनाको जोखिम जिल्लामा बढ्दै गएका कारण स्थानीय तहलाई अक्सिजन प्लान्ट खरिद गर्ने भनिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । उनले सानो खालको अक्सिजन प्लान्ट खरिद गर्दा ४-५ बेडलाई अक्सिजन पुग्ने भन्दै सबै स्थानीय तहलाई यसबारे सूचित गरिएको जानकारी दिए । जिल्लाको मनहरी गाउँपालिकाको आइसोलेसनमा भने आफ्नै अक्सिजन प्लान्ट रहको छ । यसैबिच जिल्लामा अक्सिजन सिलिन्डरको सहज पूर्ति गर्न लायन्स क्लबले निशूल्क अक्सिजन सिलिन्डर वितरण गर्ने भएको छ ।
मकवानपुरमा क्रियाशील लायन्स क्लबहरुले कोरोना भाइरस संक्रमित भई उपचार गर्नुपर्ने बिरामीका लागि निशूल्क अक्सिजन सिलिन्डर वितरण गर्ने भएको हो । अक्सिजन बैंकको स्थापना गरी बिहीबारदेखि निशूल्क अक्सिजन सिलिन्डर वितरण गर्ने लागिएको लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ की सचिव टासी डोल्मा तुम्बाहाङ्फे बताइन् । घरमै बसेर उपचार गराइरहेकाहरुलाई प्राथमिकतामा राखेर अक्सिजन सिलिण्डर वितरण गरिनेछ भने आवश्यकताअनुसार अस्पताललाई समेत अक्सिजन सिलिन्डर वितरण गरिने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया