भारतमा ठूलो मार व्यहोर्दै नेपाली : के गर्दैछ दूतावास ?
काठमाडौँ : भारतमा कोभिड-१९ को महामारी सामुन्द्रिक आँधीझैँ फैलिएपछि त्यहाँ रहेका नेपालीलगायत विदेशी नागरिकसमेत ठूलो मारमा परेका छन् । दिल्लीस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई हतास नहुन र समस्या परे तत्काल सहयोग गर्न आफूहरू तयार रहको भन्दै ढाडस दिने काम गरिरहेको राजदूत निलाम्बर आचार्यले इकागजलाई बताए ।
‘दैनिक ५० भन्दा बढी नेपालीको टेलिफोन आउँछ । हामीले कुराकानी गरेर नहतासिन भन्ने गरेका छौँ,’ राजदूत आचार्यले भने, ‘कतिपय मुलुकले त आफ्ना नागरिकलाई भारत छोड्नसमेत भनिसकेका छन् । तर, हामीले त्यसोभन्दा पनि उचित औषधि व्यवस्थाको लागि पहल गर्ने र निकै समस्या भएकालाई तत्काल दूतावासमा खबर गर्न भनिरहेका छौँ ।’
अमेरिकाले आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो भारत छाड्न भनिरहेको छ । अन्य मुलुकले पनि बाहिर सार्वजनिक नगरे पनि सकेसम्म आफ्नो मुलुक फर्कन भनिरहेका छन् । तर नेपाल र भारतबीच साँध जोडिएका कारण भारतमा समस्या पर्दा नेपालले सद्भाव राख्ने र नेपालमा समस्या पर्दा भारतले सद्भाव राख्ने हुनाले फर्किहाल्न भन्दा पनि सुरक्षित रहन आफूले आग्रह गरेको आचार्यले बताए । भारतको दुःखमा नेपालले सद्भाव राख्नुपर्ने उनले बताए । सुरक्षित हुन र भारत सरकारले दिएको निर्देशन पालना गरेर बस्न आग्रह गरिरहेको पनि उनले बताए । अमेरिकाले कोभिड संक्रमण बढ्ने क्रमसँगै स्वास्थ्य सेवाको अत्यन्त अभाव हुन थालेको भन्दै आफ्ना नागरिकलाई भारत छोड्न भनेको छ ।
बुधबार अमेरिकाले चौथो तहको ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरूलाई सक्दो छिटो भारत छाड्न आग्रह गरेको छ । यो निकै गम्भीर तहको ट्राभल एडभाइजरी हो । ‘हामी आफ्ना नागरिकलाई यतिबेला भारत भ्रमण नगर्न र भारतमा रहेकालाई सकेसम्म छिटो भारत छाड्न आग्रह गर्छौँ,’ अमेरिकी विदेश मन्त्रालयद्वारा जारी एडभाइजरीमा उल्लेख छ ।
पछिल्लो चौबीस घन्टामा भारतमा झण्डै चार लाख नयाँ संक्रमित थपिएका छन् । यसरी संक्रमित थपिँदा भारतमा औषधि उपचारमा निकै समस्या भएको छ । महामारीका कारण अस्पतालहरूमा बेड र अक्सिजनको चरम अभाव छ । कतिपय सहरहरूमा आफ्ना नागरिकले समेत अस्पतालको बेड नपाएपछि अमेरिकाले यस्तो ट्राभल एडभाइजरी जारी गरेको हो ।
भारतमा कोभिड-१९ महामारीको संक्रमणको जोखिम धेरै नै बढिरहेको र नेपालसँग सीमा जोडिएकाले नेपालतर्फ पनि संक्रमण बढ्दो छ । बेलायतलगायतका केही युरोपेली र खाडी मुलुकले महामारीकै कारण देखाएर भारतबाट हुने उडान बन्द गरिसकेका छन् । कैयन धनाढ्य भारतीयहरू स्वयं खाडी मुलुकतिर लागिसकेका छन् । भारतीयहरूलाई आफ्नो मुलुक आगमनमा पनि रोक लगाइएको छ ।
यस्तो अवस्थामा नेपालीलाई भारतमा नै बस्न भन्न दूतावासले पनि नसक्ने राजदूत आचार्यले बताए । उनले पहिले जस्तो नेपालीहरू हतासिएर घर नहिँडेको तर नेपालीहरू पनि संक्रमित भएर अस्पतालको जोहोका लागि दूतावासमा सम्पर्क गरेको र मिलाउने काम भइरहेको बताए ।
दूतावास भित्रै पनि कोभिड
भारतको बाह्रखम्बामा रहेको नेपाली दूतावासका कर्मचारीलाई पनि कोभिड संक्रमण भएको छ । अहिले एकले अर्कालाई नभेटी कोठा कोठाबाट काम गरिरहेको भए पनि केही कर्मचारीमा कोभिड देखिएको राजदूत आचार्यले बताए ।
यस्तो अवस्थामा उनीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर काम गर्न परेको राजदूत आचार्यले बताए । खासगरी लोकल स्टाफ (सुरक्षा गार्ड, कार्यालय सहयोगी र रिसेप्सनलगायत)लाई यस्तो समस्या देखिएको हो । तर, पनि सुरक्षित भएर काम गरिरहेको आचार्यले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया