पाठेघरकाे समस्या लुकाउँछन् मुगुका महिला
सुर्खेत - उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलाहरुमा पाठेघर खस्ने समस्या देखिएको छ । सुत्केरी तथा गर्भवती अवस्थामा पोसिलो खाना, भार बढी हुने काम गर्दा स्वास्थ्यमा समस्या आएको हो ।
स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८/७९ मा छायाँनाथ रारा नगरपालिकामा पहिलो, दोस्रो र तेस्रो चरणमा जाँच गर्दा २५ जना महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । सदरमुकाम रहेको पालिकाभित्र पाठेघर धेरै समस्या भएका महिलाहरुको उमेर कम रहेको पाइएको छ । सदरमुकाम स्वास्थ्य सेवा कार्यालयसम्म पहुँच भएको पालिका हो । अन्य पालिका सदरमुकाममा रहेको स्वास्थ्य संस्थासँग पहुँच नभएका कारण त्यहाँ संख्या भारी भएको अनुमान लगाएको छ ।
स्वास्थ्य सेवा कार्यालय मुगुकी सिनियर अनमी रामदेवी केसीले सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाको स्वास्थ्य कार्यालयबाट पाठेघर खस्नेबाट पीडित भएका महिलाको विवरण आउन बाँकी रहेको बताइन् । पाठेघर खसेका वा समस्यामा परेका महिलाहरुले सेवा लिनका लागि लाज मान्ने , नखुल्ने भएका कारण वषौँदेखि समस्या लुकाएर बसिरहेको उनले बताइन् ।
सोरु गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चरित्र धामीले दिएको जानकारी अनुसार पाठेघरसम्बन्धी स्क्रिनिङ जाँच गर्दा हालसम्म ३६ महिलामा पाठेघरसम्बन्धी समस्या भएको पाइएको छ । खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकामा पाठेघरसम्बन्धी पीडित महिलाको संख्या धेरै भएपनि पीडित खुल्न नसकेको बताइएको छ ।
डा. मीना हमाल चौलागाईंले उमेर नपुग्दै बिहे तथा सुत्केरी हुँदा दुर्गम जिल्लामा अत्यधिक महिलाहरुमा समस्या देखिएको बताइन् । शिक्षा तथा पारिवारिक दबावका कारण समस्या लुकाएर बस्न बाध्य भएको उनको भनाइ छ । पाठेघरमा ‘रिङ पे्रसरी’को माध्यमबाट वैकल्पिक सामान्य उपचार दिँदै आएको समेत उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया