सिभिलको नौ महिनादेखि थन्केकाे एमआरइ मेसिन सुचारू
काठमाडौँ- सिभिल अस्पतालमा नौ महिनादेखि अवरुद्ध भएको एम.आर.आइ. सेवा पुन: सुचारु भएको छ । जेठदेखि अलपत्र परेको निजामती सेवा अस्पतालले ०.३५ टेस्ला क्षमताको एम.आर.आइ मेसिन बनाएपछि सञ्चालनमा आएको हो ।
आफूसँग भएका उपकरणको मर्मतसम्भार गरि अस्पतालमा व्ययभार कम गर्न मेसिन निर्माण गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. बिधाननिधि पौडेलले बताए ।
सरकारी कर्मचारीका लागि सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थापना गरिएको यस अस्पतालमा निजामती कर्मचारीहरूले छुट तथा प्राथमिकतासहित सेवा लिने गर्दछन् । यस अस्पतालमा मर्मत प्रक्रिया सम्बन्धी ढिला:सुस्तीका कारण सेवाग्राहीहरुले सास्ती भोग्न परिरहेको थियो ।
अस्पतालमा मेसिन बिग्रिएपछि डा. पौडेलले प्राथमिकताका साथ मेसिनको मर्मत कार्य अगाडि बढाएका थिए । ‘सरकारी अस्पतालमा एउटा मेसिन बिग्रिएपछि त्यो नबनाइकन नयाँ मेसिन ल्याइन्छ,’ उनले भने,’ त्यस्ता परिपाटीमा नफसिकन मेसिन बनाउने र व्यवस्थापन गर्ने पहल लागिएको हो।‘
उनले एम आर आइ को निर्माता कम्पनीसँग मर्मतको दरभाउ बुझेर मर्मत गरिएको बताए ।
‘धेरै पाटपुर्जा फेर्नु पर्ने र यसैकारण लागत धेरै नै लाग्ने कुरा निर्माताले भने र मर्मतसम्भारका लागि यथेष्ट बजेट नछुट्ट्याउने परिपाटी रहेको हुँदा निर्माता कम्पनीमार्फत मर्मतसम्भार गर्न आर्थिक समस्या हुने हुँदा उक्त एम.आर.आइ. मेसिन महिनौंदेखि निष्क्रिय रहेको थियो,’ उनले भने ।
मर्मतसम्भारको खर्च दिनानुदिन बढ्दै जाने हुँदा डा. पौडेलले मेसिन बनाउन इच्छुक नेपाली फर्मलाई सार्वजनिक आह्वान गरेका थिए ।
डा. पौडेलको आह्वानपछि आर बि मर्चेन्ट प्रा. लि. उक्त मेसिन मर्मत गर्न इच्छुक भयो र स्थानीय स्तरमै एवं भारतबाट आवश्यक पाटपुर्जाको बन्दोबस्त गरि उक्त मेसिनलाई चालु हालतमा ल्याई सम्पूर्ण गुणस्तर परीक्षणका साथमा सेवा सुचारु भएको हो ।
आर बि कम्पनीका सी.ई.ओ. सार्थक न्यौपानेले आफ्नो संस्थाले नयाँ मेडिकल उपकरण बिक्रीका साथसाथै मर्मतसम्भार सम्बन्धी प्राविधिक एवं व्यवस्थापकीय ज्ञान समेत विकास गरेको बताए ।
कम्पनीले बनाउने विभिन्न मेडिकल उपकरणहरू सतही रुपमा फरक फरक देखिए पनि यिनीहरूले विभिन्न अन्तर्राष्ट्रिय मानकीय मापदण्डको पालन गर्नुपर्ने उनको भनाइ छ । उपकरणको मर्मतसम्भारका लागि आधारभूत प्राविधिक एवं वैज्ञानिक सिद्धान्तहरूमा दक्ष जनशक्तिमा ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
न्यौपानेका अनुसार मर्मतसम्भारमा निर्माण कम्पनीको एकाधिकार हुने अहिलेको एकलौटी परिपाटीलाई चुनौती दिँदै व्यावसायिक रुपमा प्रतिस्पर्धा गरी मेडिकल उपकरण मर्मतसम्भारमा आर.बि. मर्चेन्ट प्रा.लि. ले आफ्नो मानव संसाधन एवं प्राविधिक क्षमता विस्तार गर्दै आएको छ ।
मौलिक जनशक्ति एवं सस्तो तथा गुणस्तरीय पाटपुर्जाको प्रयोग गरि नेपालका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा मर्मतसम्भार सुविधा दिने र यसको गुणस्तरको प्रतिबद्धताप्रति सेवाग्राहीलाई आश्वस्त पार्ने लक्ष्य आर बि मर्चेन्टले उनले प्रतिबद्धता जनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया