एकताबद्ध भएर काम गर्नुको विकल्प छैन : स्वास्थ्य मन्त्री गिरी
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सम्बन्धित निकायहरू एकताबद्ध भएर काम गर्नुको विकल्प नरहेको बताएका छन् ।
बिहीबार वीर अस्पतालमा क्याथ ल्याबको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री गिरीले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म पुग्न नसकेको भन्दै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न आवश्यक रहेको उल्लेख गरे । उनले उपचार नपाएर मर्नुपर्ने बाध्यतालाई हटाउन सक्नुपर्ने पनि बताए ।
मन्त्री गिरीले स्वास्थ्य सेवाको पहुँच विस्तार गरी गुणस्तरीय सेवा प्रवाहका लागि मन्त्रालयले आवश्यक नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । सरकारी अस्पतालमा ल्याबमा हुने उपकरणहरू चाँडै बिग्रिने र बाहिर उपचार गर्न जानुपर्ने बाध्यता रहेको भन्दै यस्ता कुराहरू हटाएर गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन उनले निर्देशन दिए ।
मन्त्री गिरीले जनशक्तिको अभावलाई आवश्यक बजेट विनियोजित गरेर मन्त्रालय गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा लाग्ने पनि बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गर्ने बताइन् । उनले उपकरण, सिटि स्क्यान, एमआरआइको कमीलाई अब चाँडै पूर्ति गर्ने कुरामा मन्त्रालय लाग्ने जानकारी दिइन् ।
वीर अस्पतालमा सन् १९८५ मा क्याथ ल्याब सेवा सुरु भएको थियो तर २००० सालबाट बिस्तारै सेवा अवरुद्ध भएको थियो । त्यसपछि सन् २०२३ बाट पुनः सेवा सुरु हुन लागेको हो ।
सन् १९८५ मा राजा वीरेन्द्र वीरविक्रम शाहले नेपालमा पहिलोपटक वीर अस्पतालबाट नै क्याथ ल्याब सेवाको उद्घाटन गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया