स्वास्थ्य

सफाइकर्मीहरू किन छोड्दैछन् कोभिड अस्पताल ?

जोखिम उस्तै, फ्रन्टलाइनर सफाइकर्मीलाई सेवा-सुविधा-प्रोत्साहन छैन

सृजना खड्का |
बैशाख १९, २०७८ आइतबार ९:३२ बजे

काठमाडौँ : गत असोजमा ललितपुर, बुङ्मतीकी सुनिता पोडेलाई कोभिड संक्रमणले भेट्यो । त्यसबेला उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सफाइकर्मीको काम गर्थिन् । 

पीपीईमा बाफिँदै बिरामी सुतेका ओछ्यानका तन्‍ना फेर्थिन् । अस्पतालका भुइँ र संक्रमितले प्रयोग गरेका चर्पी घोट्थिन् । उनका श्रीमान् भाइलाल सुगर र प्रेसरका बिरामी थिए । यसका बाबजुद उनी सोही अस्पतालको इमर्जेन्सी वार्डमा काम गर्थे ।


पसिना चुहाउँदै दिनभरि बिरामीलाई जनरल वार्डदेखि इमर्जेन्सी, इमर्जेन्सीदेखि जनरल वार्ड गराइरहन्थे । तर, बिरामीको सेवा गर्दागर्दै उनी एक दिन आफैँ संक्रमित भए । त्यसपछि भने यो जोडीले निधो गर्‍यो- अस्पतालबाट बिदा लिने । 

उनीहरूलाई ज्यानभन्दा प्यारो काम भएन । सुनिता अस्पतालमा २० वर्ष काम गरेर रिटायर्ड भइसकेकी थिइन् । तर, पनि उनको जागिरे मनले घर बस्न मानेन । करारमै भए पनि उनले जागिर खान थालेको चार वर्ष भएको थियो ।

करारकै जागिर सही उनले यो महामारीमा कोभिडका बिरामी नजिक जाने आँट गरिन् । उनीहरूको सेवा गरिन्, शौच फ्याँकिन् । त्यसको बदला अस्पतालबाट उनी ११ हजार तलब बुझ्थिन् । 

डाक्टर एकपटक राउन्डमा आउँदा उनले बिरामीको वरिपरि १० पटक राउन्ड मार्नुपथ्र्यो । डर र त्रासले उत्तिकै भाउन्न बनाउँथ्यो । श्रीमान् श्रीमती दुवैलाई कोभिड भएपछि त झन् उनीहरूको सातोपुत्लो उड्यो ।त्यसमाथि, बाहिरफेर मानिसहरूले सुनाउन थाले, ‘अब त झन् नयाँ-नयाँ जातको कोरोना आउँछ रे ।’ 

डाक्टरभन्दा बढी आफू जोखिममा भएको महसुस सुनिता र भाइलालले गर्न थाले । उसो त सेवा-सुविधा पनि आफूले खोजे जस्तो थिएन । उनीहरूका धेरै सफाइकर्मीलाई पनि कोभिड भयो । ‘डाक्टर आउँथे बिरामीलाई के छ भनेर जान्थे,’ उनी भन्छिन्, ‘हामी भने जति बेलै उनीहरू नजिकै हुनुपथ्र्यो । पीपीईले शरीर बाँध्थ्यो, मास्कले श्वास । तर, हामीले काम गर्न छाडेनौँ ।’

पीपीई लगाएर काम गर्न निकै अप्ठ्यारो महसुस भएको उनीहरूले सुनाए ‘डाक्टरजस्तो पीपीई लगाएर राउन्डमा आउने जस्तो काम हाम्रो हुँदैन,’ भाइलाल भन्छन्, ‘हामीले डाक्टरको जस्तो दिमागको काम गर्ने होइन । हातखुट्टाले काम गर्नुपर्छ । त्यही हातखुट्टा पनि पीपीईले बाँधेपछि काम गर्न निकै सकस हुन्थ्यो ।’ 

भाइरल असिनपसिन हुँदै इमर्जेन्सीमा आएका बिरामीलाई एक्सरे गर्न कुदाउँथे । अस्पतालमा इमर्जेन्सी वार्ड एउटा भवनमा थियो, एक्सरे गर्ने कोठा अर्कैमा । श्रीमान्श्रीमती एउटै पेसामा भएकाले जागिर छाडे के खाने चिन्ता उनीहरूमा थियो ।

तर, आफैँलाई कोभिड भएर अस्पताल भर्ना हुनुपरेपछि गत माघमा उनले जागिरबाट राजीनामा दिए । केही दिनअघि उनले भारतमा संक्रमितको लास जलाइरहेको फोेटो फेसबुकमा हेरे । त्यो हेरेदेखि झन् उनी र सुनितामा पुन काममा फर्किने आँट छैन । 

दुवैको साझा तर्क छ, ‘अब बरु एक छाक दाल पिएर बस्छौँ, तर फेरि काममा फर्किदैनौँ ।’

सुनिता र भाइलाललाई आफूहरूले जागिर गुमाएको जस्तो लाग्दैन, अस्पतालले चाहिँ आफूलाई गुमाएको ठान्छन् उनीहरू । कामको लोड ज्यादा, सेवासुविधा कम हुँदा आफूजस्ता धेरै सेवाकर्मीलाई अस्पतालले गुमाएको उनीहरू बताउँछन् । 

टेकु अस्पतालको ग्यास्ट्रो आइसोलेसनकी इन्चार्ज नर्स कमला पौडेल पनि यो कुरा स्वीकार्छिन् । ‘पछिल्लो समय जागिर छाड्ने सफाइकर्मीहरूको संख्या बढेको छ,’ उनी भन्छिन्, ‘ज्यानको जोखिम भयो भनेर जागिर छाड्नेहरू छन् । उनीहरूलाई हामीले जति कोसिस गर्दा पनि सम्झाउन सकिरहेका छैनौँ ।’

वीर अस्पतालमा जेनरल फिजिसियन डा. सम्राट श्रेष्ठ बिरामीको चाप बढ्दो भएको बेला सफाइकर्मीले भटाभट जागिर छाड्नुलाई राम्रो संकेत मान्दैनन् ।

‘ यस्तो बेला सफाइकर्मी र स्वाथ्यकर्मीबीचको सम्बन्ध नङ र मासु जस्तो हुन्छ,’ उनी भन्छन्, ‘हाम्रो बौद्धिक भूमिका हुन्छ भने उनीहरूको शारीरिक । तर, उनीहरू भएनन् भने त हाम्रो कामै रोकिन्छ ।’

डा. श्रेष्ठलाई एकैछिन पीपीई लगाउन हम्मेहम्मे पर्छ । यो गर्मीमा सफाइकर्मीले लामो समय पीपीई लगाएको देखेर उनी आफैँलाई उकुसमुकुस हुन्छ ।

‘हामी बिरामीसँग छोटो समय मात्रै एक्सपोज हुन्छौँ, उनीहरू त लामो समय एक्सपोज हुनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘उनीहरूलाई पनि राम्रो सेवा-सुविधा हुनुपर्छ । भत्ता नपाएर सडकमा आउने अवस्था हुनुहुँदैन ।’

ग्रान्डी इन्टरनेसनल हस्पितलकी ल्याब टेक्निसियन बिना गुरुङ गुरुङलाई सफाइकर्मीबिना ल्याबको काम अधुरो हुन्छ भन्ने लाग्छ ।

‘ल्याब सफा गर्न, प्रयोग गरिसकेका स्याम्पल फ्याँक्न उनीहरू नभई हुन्न,’ उनी भन्छिन्, ‘ल्याबमा सफा गरेको गर्‍यै गर्नुपर्छ । त्यसैले सफाइकर्मीलाई पनि स्वास्थ्यकर्मी जस्तै प्राथमितामा राख्नु जरुरी छ ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सफाइकर्मीलाई बेवास्ता गरिएका हिरो भन्छन् । उनलाई औषधि लेखेर दिँदैमा डाक्टर ठूलो र सरसफाइ गर्दैमा सफाइकर्मी सानो हो भन्ने लाग्दैन । अस्पतालमा स्वास्थ्यकर्मी जति महत्वपूर्ण हुन्छन्, सफाइकर्मी पनि उत्तिकै महत्वपूर्ण हुन्छन् भन्ने डा. पुनलाई लाग्छ ।

‘संक्रमण फैलिने डर हामीभन्दा धेरै उनीहरूलाई हुन्छ,’ उनी भन्छन्, ‘कोभिड अस्पतालमा सरसफाइ भएन भने संक्रमण फैलिने डर झनै धेरै हुन्छ । त्यसैले उनीहरूलाई यो बेला बेवास्ता होइन, काममा फर्किने हौसला दिनुपर्छ ।’

अस्पतालबाट मात्र नभएर राज्य र मिडियाबाटै सफाइकर्मी उपेक्षित भएको उनी बताउँछन् । ‘डाक्टर, नर्स, बिरामी सबैको सबैभन्दा धेरै गाली उनीहरू नै खान्छन्,’ डा. पुन भन्छन्, ‘अस्पताल, सरकार र मिडियाबाट बेवास्तामा पनि उनीहरू नै पर्छन् ।’ 

स्वास्थ्यकर्मीले मेडल पाउँदा सफाइकर्मीले टुलुटुलु हेरेर बस्नुपरेको उनलाई कत्ति पनि चित्त बुझेको छैन । ‘हिरो डाक्टर र नर्समात्रै होइनन्, उनीहरू पनि हुन्,’ उनी भन्छन्, ‘दिनमा एकपटक राउन्ड हान्ने डाक्टरले मेडल पायौँ । तर, वर्षौंदेखि अस्पतालको सफाइ गर्दै आएका उनीहरूले न कुनै मेडल पाए, न कुनै हौसला ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x