मुसा र कुकुरले टोक्दा टेकु अस्पताल आउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : मन्त्री कार्की
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट दिँदै आएका सेवाको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन् । मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अस्पतालले दिँदै आएको सेवाको विकेन्द्रीकरण गर्नुपर्ने बताएकी हुन् ।
मन्त्री कार्कीले सरुवा रोगसम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको जिकिर गरिन् । उनका अनुसार हरेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशमा नै सरुवा रोग सम्बन्धी अस्पतालहरूको सेवा विस्तार हुन आवश्यक छ ।
'अब मुसाले टोक्यो भने टेकु अस्पताल, कुकुरले टोक्यो भने टेकु अस्पताल, महामारी प्रकोप फैलिए टेकु अस्पताल नै आउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ,' उनले भनिन्, 'अब गाउँगाउँमा, पालिका-पालिकामा, नगरपालिका, जिल्ला, प्रदेश स्तरमा टेकु अस्पतालजस्ता सरुवा रोग सम्बन्धी अस्पतालहरू हुन जरुरी छ ।’
विभिन्न खाले प्रकोपलाई धान्नसक्ने अस्पतालहरू पालिका स्तरमा बनाउनुपर्ने उनको भनाइ छ ।
‘यो हामीले बनाउन सक्नुपर्छ । त्यसका लागि विकेन्द्रीकरण कसरी गर्न सकिन्छ, शुक्रराज अस्पतालले दिइरहेका सेवालाई कसरी विकेन्द्रीकरण गर्न सकिन्छ ? त्यसका लागि हामी तत्पर रहनेछाैं। हामी टेकु अस्पतालबाट दिने सेवाको विकेन्द्रीकरण गर्नुपर्ने एजेन्डा बोकेर अघि आएका छौँ,' उनले थपिन् ।
राज्यमन्त्री कार्कीले स्वास्थ्यकर्मीहरूले उठाइरहेको जोखिम भत्ताको बारेमा मन्त्रालय गम्भीर रहेको पनि उल्लेख गरिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया