स्वास्थ्य

२० प्रतिशत बेड कोभिड उपचारलाई छुट्याउन ललितपुरका निजी अस्पताललाई निर्देशन

इकागज |
बैशाख १९, २०७८ आइतबार १९:१९ बजे

काठमाडौं : ललितपुर जिल्ला प्रशासन कार्यालयले त्यहाँका निजी अस्पतालहरुलाई कुल बेडको कम्तिमा २० प्रतिशत बेड कोभिड-१९ बाट संक्रमित बिरामीहरुको उपचार एवं व्यवस्थापनका लागि छुट्याउन निर्देशन दिएको छ । कोभिड व्यवस्थापन सम्बन्धी आइतबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।
 
त्यसरी छुट्याइएका बेडको प्रयोग र खालीको अवस्था दैनिकरुपमा अद्यावधिक गरी कोभिड-१९ जिल्ला संकट व्यवस्थापन केन्द्र ललितपुर र स्वास्थ्य कार्यालय ललितपुरलाई उपलब्ध गराउने समेत भनिएको छ ।

यस्ता छन् निर्णयहरू

(१) विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरका कारण संक्रमण तीब्र रुपमा फैलिरहेको अवस्था देखिएकोले कोरोना संक्रमितहरुको व्यक्तिहरुको उपचार तथा व्यवस्थापनको लागि कोभिड १९ अस्पताल सञ्चालन एवं विस्तार गर्न जरुरी देखिएकोले नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८ /०१/०६ को निर्णय अनुसार यस जिल्लाका सबै गाउँपालिकालाई कम्तिमा १५ बेड, नगरपालिकालाई ५० बेड र महानगरपालिकालाई १०० बेडको अस्पताल व्यवस्थापन / सञ्चालन गर्न अनुरोध गर्ने ।

(२) कोभिड-१९ को लक्षण सहितका बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर राखी नेपाल सरकारले तोकेको सेवा सुविधा प्राप्त गर्ने गरी कोभिड १९ डेडिकेटेड अस्पताल सञ्चालन गर्न जिल्ला स्थित सबै निजी अस्पतालहरुलाई अनुरोध गर्ने ।

(३) नेपाल सरकारको निर्देशन बमोजिम यस जिल्ला भित्र सञ्चालित सबै निजी अस्पतालहरुले कुल बेडको कम्तिमा २० प्रतिशत बेड कोभिड-१९ बाट संक्रमित बिरामीहरुको उपचार एवं व्यवस्थापनका लागि छुट्याउने र त्यसरी छुट्याइएका बेडको प्रयोग र खालीको अवस्था दैनिकरुपमा अद्यावधिक गरी कोभिड-१९ जिल्ला संकट व्यवस्थापन केन्द्र ललितपुर र स्वास्थ्य कार्यालय ललितपुरलाई उपलब्ध गराउने ।

(४) सबै अस्पतालहरु तथा स्थानीय तहहरुले कोभिड १९ सम्बन्धी विवरण तयार गरी दिनको ३.०० बजेभित्र स्वास्थ्य कार्यालय ललितपुरलाई उपलब्ध गराउने र स्वास्थ्य कार्यालय ललितपुरले त्यस विवरणलाई एकिकृत गरी दिनको ४.०० बजेभित्र जिल्ला संकट व्यवस्थापन केन्द्र ललितपुर र सबै स्थानीय तहहरुलाई उपलब्ध गराउने यस सम्बन्धी स्वास्थ्य कार्यालय ललितपुरसँग समन्वय गरी ललितपुर महानगरपालिकाले मोबाइल एप सञ्चालनमा ल्याउने

(५) एम्बुलेन्स सञ्चालन र परिचालनलाई व्यवस्थित एवं स्वचालित बनाउन जिल्ला भित्र रहेका एम्बुलेन्सहरुको विवरण तयार गरी (कोभिड डेडिकेटेड र अन्य खुलाई) १०२ मा इनरोल गर्ने व्यवस्था मिलाउने र स्वास्थ्य कार्यालय ललितपुरले यस सम्बन्धि कार्य गर्ने गरी एक जना फोकल पर्सन तोकि सहजिकरण गर्ने ।

(६) क्रोमिड- १९ संक्रमित व्यक्तिहरुको उपचार व्यवस्थापनमा सहजिकरण गर्न महानगरीय प्रहरी परिसर ललितपुरले तोकेको प्र.ना.उ. को संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय ललितपुर, नेपाली सेना (राजदल गण), सशस्त्र प्रहरी बल २१ नं. गण, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुर र स्वास्थ्य कार्यालय ललितपुरको अधिकृत प्रतिनिधि सदस्य रहेको र्‍यापिड रेस्पोन्स टिम गठन गर्ने

(७) कोभिड १९ महामारी र मिति २०७८ बैशाख १६ गते देखि जारी निषेधाज्ञाको बहानामा बजारमा हुन सक्ने अनियमितता, कालो बजारी, कृत्रिम अभाव हुन गर्न नदिन आकस्मिक र नियमित बजार अनुगमनलाई प्रभावकारी बनाई कानुन विपरितका गतिविधि एवं कार्य गर्नेलाई कडा कारबाही गर्ने ।



Author

थप समाचार
x