स्वास्थ्य

सेनाको कोभिड अस्पतालमा सर्वसाधारणले कहिलेबाट उपचार पाउँछन् ?

अतिन आचार्य |
बैशाख २०, २०७८ सोमबार १३:२७ बजे

काठमाडौँ : मुलुकभर 'सुनामी' झै फैलिएको कोभिड-१९ बाट संक्रमित संख्या ४८ हजार नाघिसकेको छ  । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका कोभिड प्रभावित जिल्लामा संक्रमितले अस्पतालका बेड भरिभराउ छन् । सर्वसाधारणलाई सुरक्षित र संवेदनशील रहन अनुरोध गरिसकेको छ ।

काठमाडौँ उपत्यकामा मात्र विभिन्‍न अस्पताल गरेर दुई हजार संक्रमित उपचाररत छन् । निजी तथा सरकारी अस्पतालले संक्रमितलाई उपचार गरेका भए पनि अहिले सर्वसाधारणले शय्या नअपनाउने अवस्था छ ।


कोभिड 'डेटिकेटेड' अस्पतालले नपुगेर सुरक्षाकर्मीका अस्पतालमा समेत संक्रमितको उपचार भइरहेका छन् । सुरुवातीदेखि सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी र नेपाली सेनाको सैनिक अस्पतालमा उपचार भइरहेका छन् ।

देशभरका सर्वसाधारण संक्रमितले अस्पतालमा शय्या पाएका छैनन् । सामान्य लक्षण भएका र अस्पतालमा बेड नपाइने भएकाले ४५ हजार भन्दा धेरै संक्रमित होम आइसोलेसनमा बस्‍न बाध्य रहेका सरकारी तथ्यांकले नै देखाउँछ ।

सर्वसाधारणले बेड र अक्सिजन नपाएर दिनप्रतिदिन ज्यान गुमाइरहेका छन्  । तर, नेपाली सेना भने आफ्नैलाई मात्र उपचार गर्न व्यस्त छ  ।

राज्यका तिनै सुरक्षाकर्मीले संक्रमितको उपचार गरिरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालमा सर्वसाधारणले उपचार गरिरहेका छन तर, सैनिक अस्पतालले सर्वसाधारणको उपचार गरेको छैन् ।

संकटमा नेपाली सेनाले सदा राज्य र नागरिकलाई सहयोग गर्नु उसको कर्तव्य र जिम्वारी दुवै हो  । अहिले सर्वसाधारणले बेड र अक्सिजन नपाएर दिनप्रतिदिन ज्यान गुमाइरहेका छन् । तर, नेपाली सेनाले भने आफ्ना संगठनका कर्मचारीलाई उपचार गर्दै आइरहेको छ ।

'अस्पतालहरूमा बिरामी राख्‍ने ठाउँको अभाव भैरहेको समयमा सैनिक अस्पतालमा पनि सर्वसाधारणले उपचार गर्नु पाउनु पर्ने हैन र?' केही दिनअघि पद्मा फार्मेसी सञ्चालक महेन्द्र खड्काले प्रश्न गर्दै फेसबुक एक स्टाटसले लेखे, ' नेपालीहरू उपचार नपाएर मरिरहँदा सैनिक अधिकृतहरूलाई पिडा हुदैन कि के हो?'

'देशभरका सैनिक अस्पताल तयार गर्ने योजनामा छौँ'
काठमाडौँ स्वास्थ्य कार्यालयका अनुसार सैनिक अस्पतालमा ७१ जनाले उपचार गराइरहेका छन् । सबै बहालवाला सैनिकदेखि अन्य रिटार्यड सैनिक प्रमुख उपचाररत छन् । सर्वसाधारणलाई उपचारको व्यवस्था नमिलाइएको नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौड्यालका अनुसार ८ लाख रिटायर्ड सहितका सेनाका पदाधिकारीलाई उपचार गर्नुपर्ने हुन्छ । अस्पतालमा कोभिड डेटिकेटेड बेड ५०, आइसियु २० र सर्जरी वार्ड ५ वटा छन् । १ सय भन्दा बढी संक्रमित अस्पतलमा उपचाररत छन् ।

सर्वसाधारणलाई कसरी उपचार गराउन सकिन्छ भन्‍ने योजना तयार गरिरहेको प्रवक्ता पौड्यालले बताए । ' यस विषयम मुख्यालयमा र बाहिर पनि चर्चा भइरहेकाले हामी गम्भीर छौ,' उनले भने,' सर्वसाधारण नागरिकले उपचार पाउने व्यवस्था छिटो मिलाउँछौ ।'

त्रिचन्द्र अस्पतालमा ८० बेडको आइसोलेसन बनाउने तयारी अवस्थामा रहेको पौडेलले जानकारी दिए । सेनाले कोभिड व्यवस्थापनका विभिन्‍न पाटोमा काम गरि सहयोग गरिरहेको उनको भनाइ छ । सैनिक पृतनालयमा रहेका विभिन्‍न अस्पताललाई कोभिड उपचार केन्द्र समेत बनाइने पौड्यालले प्रस्ट पारे ।

'अस्पतालमा रहेका पनि सर्वसाधारण हुन्'
सैनिक अस्पतालका सबै बेड भरिएका र त्यहाँ उपचाररत सबै सर्वसाधारण रहेको सीसीएमसीका प्रवक्ता एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बराल बताउँछन् ।

सैनिक बाहेकका मान्छेले कहिलेबाट उपचार पाउँने व्यवस्था मिलाउने व्यवस्था मिलाउनु हुन्छ भन्‍ने इकागजको प्रश्नमा बराल भन्छन,' उपचाररत सबै सर्वसाधारण हुन्  । रिटार्यड पनि नेपाली नागरिक हुन त्यस्तो केही भए सरकारको तर्फबाट थप केही गर्नेछौ  ।'

' सेनालाई पटक-पटक आग्रह गर्‍यौँ '
सरकार र मन्त्रालयको तर्फबाट हामीले धेरै पटक सर्वसाधारणले उपचार पाउनुपर्छ भन्दै हामीले सैनिकलाई धेरैपटक आग्रह गरिसकेको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए  ।

' हाम्रो आग्रह मान्दैनन त हामी के गर्ने हो  । हामीले बारम्बार भनिरहन मिल्दैन,' उनले भने, 'सैनिकहरू पनि सीसीएमसीको कमिटीमा छन् उहाँहरूलाई देशको सबै अवस्थाबारे जानकारी छ  ।'

'राज्यले उपचारका लागि निर्देशन दिनुपर्छ'
संकटका बेला सरकारले सबै सरोकारवाला निकायलाई बोलाएर सहमती खोज्नुपर्ने नागरिक अगुवा कृष्ण पहाडी बताउँछन् । नागरिकको उपचार जस्तो कुरामा समयमा सबै गम्भीर हुनुपर्ने उनले बताए । जनताको उपचार गर्न सक्दिनम भनेर सरकारले हात उठाउनु अब सरकार डराइसकेको प्रत्याभुती भइसकेको उनको दाबी छ ।

' सरकार जनताप्रति गम्भीर नभएकाले पनि उपचारमा समस्या भएको छ,' पहाडी भन्छन,' सुरक्षाकर्मी राज्यका अंग हुन् । राज्यले निर्देशन दिएपछि नागरिकको उपचार गर्दिन भन्‍न कसैले पाउँदैनन् ।'

सरकार सत्ताको खेलमा लागेकाले र राजनीतिक दल पनि जनताप्रति बफादार नबन्दाको परिणाम रहेको पहाडीको भनाइ छ । उपचार नपाएर नागरिकले ज्यान गुमाइरहेकाले नागरिक समाजसँग सहमती कायम गरी सरकारलाई अघि बढन उनले आग्रह गरे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x