स्वास्थ्य

कोभिड-१९काे दोस्रो लहर

निषेधाज्ञाको पाँच दिनमै थपिए उपत्यकामा ११ हजार संक्रमित

अतिन आचार्य |
बैशाख २०, २०७८ सोमबार १६:२९ बजे

काठमाडौँ : कोभिड-१९ संक्रमणको संख्या दिनप्रतिदिन वृद्धि भएकाले काठमाडौं उपत्यकमा निषेधाज्ञा जारी गरेको पाँच दिन भइसकेको छ । कोभिडको हटस्पट बनेपछि संक्रमणका त्रासले धेरै उपत्यकाबासी घर-घरमा थुनिएर बस्‍न बाध्य छन् । केही दिन यता संक्रमणदर र मृत्युदर उच्च हुँदै गएको छ । 

मुलुकभर सबैभन्दा बढी कोभिडको संक्रिय संक्रमित काठमाडौँ उपत्यकामै छन् । भक्तपुरमा १ हजार ८ सय ३१, ललितपुरमा २ हजार ४ सय ६५ र काठमाडौंमा १० हजार ३ सय ८४ सक्रिय संक्रमित छन् । उपत्यकामा कुल संक्रमित १ लाख ५६ हजार ५ सय ४४ लाई पुष्टि भइसकेको छ ।


संक्रमणको दर बढेकाले उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय प्रमुखहरूको संयुक्त बैठकले १६ गतेबाट निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा गरेको पाँच दिनमै साढे दश हजार भन्दा बढी संक्रिमत भेटिएका छन् । काठमाडौंमा ८२ सय सात, भक्तपुरमा आठ सय २४ र ललितपुरमा १५ सय ७६ जना संक्रमण थपिएका छन्।

चार दिनमै पनि यतिका संख्यामा संक्रमण बढ्नुमा निषेधाज्ञाले पनि काम नगरेको जस्तो देखिएको छ। निषेधाज्ञामा संक्रमण घट्नुपर्ने अझ बढदै गएको छ ।  निषेधाज्ञा अघि संक्रमण फैलिइसकेकाले पनि निषेधाज्ञाको समयमा पनि संक्रमण बढीरहेको विज्ञहरूले बताउँदै आएका छन् ।

' युके भेरियन्ट देखिएकाले उपत्यकामा थप  संक्रमण फैलिएको हो'

निषेधाज्ञाको प्रभाव कस्तो पर्‍यो भनेर हेर्नलाई अझै दुई देखि तीन हप्तासम्म हेर्नुपर्ने संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन्। 'सामान्य रुघाखोकीको लक्षण भएपनि परीक्षण गर्न कोही जादैनन्, ' उनले भने, ' जब यसले साह्रो पार्छ तब मानिस परीक्षण गराएर उपचार तिर लाग्छन् ।'

एक समयसम्म कोभिड उच्च विन्दुमा पुगी आफै 'चेन ब्रेक' लाग्‍न सक्ने कोइरालाको अनुमान छ । नेपालमा बेलायती भेरियन्ट देखिएकाले यसको फैलावट तीव्र रूपमा फैलिएकाले उपत्यकामा त्यसको प्रभाव परेको हुन सक्ने उनको भनाइ छ ।  उनका अनुसार भारतमा देखिएको भाइरस नेपालमा पुष्टि भएको छैन । 'लक्षण देखिएका धरैमा कन्ट्याक ट्रेसिङ भएको छैन । संक्रमण पुष्टि हुने आशंकामा धेरै परीक्षण गरेका छैनन,' उनले भने ।

बाहिर हिडँडुल गर्ने मानिसले अनिवार्य मास्क, सामाजिक दूरी कायम गर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन् । निषेधाज्ञामा पनि लक्षित समूहलाई कोरोना विरुद्धको खोप लगाउनुपर्नेमा कोइरालाको जोड छ ।  महामारीलाई कसरी नियन्त्रण गर्न सकिन्छ त्यो विषयमा नागरिक र सरकारी दुवै पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

'अस्पतालमा बेड थप्‍ने, एक साता निषेधाज्ञा गर्ने योजना छ'

काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा संक्रमितको सम्पर्कमा आएकालाई परीक्षण गरी आइसोलेट गर्ने काम भइरहेको छ । 

'तीव्र रुपमा महामारी फैलिएकाले कोभिडबाट कसरी सुरक्षित हुन सकिन्छ त्यसमा ध्यान दिन नागरिकलाई अपिल गरिरहेका छौँ,' पराजुलीले भने । सर्वसाधारणलाई यसबाट सुरक्षति हुनलाई बारम्बार विभिन्‍न माध्यमको प्रयोग गरी सूचना दिने काम भइरहेको उनको भनाइ छ ।

एक साताको लागि पुनः निषेधाज्ञा जारी गर्ने पराजुलीले इकागजलाई बताए। अब हुने निषेधाज्ञामा थप कडाइ गर्ने पनि उनले जानकारी दिए । वीर अस्पताल, सामाखुसीस्थित राधे-राधेको सत्संग भवनमा, किर्तिपुरस्थित आयुर्वेदिक अस्पतालमा आइसोलेसन कक्ष बनाउने कामा तीव्र रुपमा बढिरहेको उनले जानकारी दिए ।

' निषेधाज्ञाका अघि फैलिएका संक्रमण देख्यो '

निषेधाज्ञा हुनुभन्दा अघि संक्रमण फैलिइसकेकाले पनि अहिले बिस्तारै देखिन थालेको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका प्रवक्ता डा. प्रवीण नेपाल बताउँछन्। संक्रमणको लक्षण करिब सातदेखि १५ दिनमा देखिने गरेको उनले बताए। त्यसैको प्रभाव निषेधाज्ञामा धमाधम संक्रमण देखिन थालेको उनको भनाइ छ ।

'निषेधाज्ञाको प्रभाव देखिन अझ एक साता लाग्छ,' डा. नेपाल भन्छन ,' यसअघि संक्रमण उच्चदरमा देखिएको थियो। केही समयपछि चेन ब्रेक लाग्नेछ। सबैलाई परीक्षण गरी आइसोलेट गर्नुपर्छ ।' कोभिडका बिरामीहरू दैनिक १२ देखि १४ जना भर्ना हुन आइरहेकाे पनि  डा. नेपालले बताए । 

'संक्रमितका लागि अस्पतालमा बेड छैन। बेड पाइन्छ कि पाइदैन भनेर २५ देखि ३० वटा फोन कल आउने गरेको छ,' उनले भने । अस्पतालबाट संक्रमितहरू नेगेटिभ नआए सम्म बसिरहने कारणले पनि बेडको अभाव भइरहेको हुन सक्ने डा. नेपालको भनाइ छ ।

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x