स्वास्थ्य

प्रदेश १ मा कोभिड संक्रमण : १२ घण्टामा ७ संक्रमितको मृत्यु

इकागज |
बैशाख २१, २०७८ मंगलबार १४:३८ बजे

फाइल फाेटाे

विराटनगर : प्रदेश १ मा पछिल्लो १२ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चार जनाको कोरोना संक्रमितको पछिल्लो १२ घण्टामा मृत्यू भएको थियो भने मोरङको बेलबारी नगरपालिकामा होम आइसोलेसनमा एक जनाको मृत्यु भएको छ । 

यस्तै एक जनाको सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा  र झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जना महिला र पाँच जना पुरुष रहेका छन् । 


मोरङको बेलबारीका एक, विराटनगरका एक, सुनसरीको धरानका एक, इलामका एक, झापाका एक र सप्तरीका दुई जनाको मृत्यु भएको हो । बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । त्यस्तै विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्ध पुरुषको बिहान २ बजेतिर मृत्यु भएको हो । 

कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोबेलको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अवस्था गम्भीर रहेका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो । इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि नोबेलमै मृत्यु भएको छ । परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि गत वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो । उनको बिहान ४ः१५ बजेतिर मृत्यु भएको हो । मृतकमा निमोनियाको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।

 सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा मृत्यु भएको हो । कोरोना सङ्क्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । दमको समस्या रहेका बृद्धको बिहान ५ बजेतिर मृत्यु भएको अस्पतलाले जनाएको छ । त्यस्तै प्रदेश २ को सप्तरी हनुमाननगर–कङ्कालीनी–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते नोबेल अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

उता झापाको बिएण्डसी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । ६ दिनअघि काठमाडौँबाट उपचारका लागि झापाको बिएण्डसी अस्पताल ल्याइएका झापाको शिवसताक्षी नगरपालिका ८ का ७० वर्षीय बृद्धको मृत्यु भएको हो । यसैगरी सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरकिा कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका १, सप्तरीका ५० वर्षीय पुरुष छन् । 

प्रदेशमा अहिले सम्म कोरोना संक्रमितको संख्या ३३ हजार ९४१ पुगेको छ । संक्रमितमध्ये ३० हजार जना ७९ संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३५७ पुगेको छ ।

 


Author

थप समाचार
x