स्वास्थ्य

प्रहरी अस्पतालमा १४० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट खुल्यो

३ करोड लागतमा दैनिक प्रति सिलिन्डर ४६ लिटर उत्पादन

इकागज |
बैशाख २१, २०७८ मंगलबार १७:५५ बजे

काठमाडौं : नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा १ सय ४० सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा आएको छ । यो प्लान्टले प्रतिसिलिन्डर ४६ लिटर अक्सिजन उत्पादन गर्नेछ ।

यसमा कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिन्डर फिलिङ स्टेशन लगायतका उपकरण राखिएको छ । यो सिस्टम युएनओपिएसको सहयोगमा करिब ३ करोड रुपैयाँको लागतमा सञ्‍चालनमा ल्याएको हो ।
 
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार सिस्टमको निरीक्षण गर्नुका साथै काम गर्ने पद्धतिबारे जानकारी लिए ।  साथै उनले अस्पतालका विभिन्‍न विभागहरू, कोभिड-१९ बाट संक्रमितको उपचार सेवा, नयाँ थप भएका वेड, पीसीआर परीक्षणस्थललगायतको निरीक्षण गरे ।

अस्पतालको सेवालाई उत्कृष्ट बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट सक्रिय हुनुपर्ने र यसका लागि प्रहरी प्रधान कार्यालयको पूर्ण साथ र सहयोग कायम रहने उनले   बताए ।  प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालले उत्कृष्ट सेवा दिने र बिरामी निको पार्ने विषयमा सबैले एकिकृत प्रयास गरी काम गर्नुपर्ने बताए । राम्रो सेवा, असल व्यवहार र उपलब्ध साधन स्रोत तथा जनशक्ति व्यवस्थापनमा अझै सुधार गर्दै समूहगत रुपमा लड्यौं भने वर्तमान महामारीलाई परास्त गर्न सहज हुने उनले बताए ।
 
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले चुनौतीपूर्ण अवस्थामा जोखिम मोल्दै अस्पतालले राम्रो काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत चुनौतीलाई अवसरको रुपमा लिएर चनाखो भई ईमानदारी पूर्वक काम गर्न अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

उपचारको साथै विरामी र तिनका आफन्तलाई सूचना तथा सुझाव दिने, विरामीको अवस्था बुझ‍‍्‍नको लागि छुट्टै टेलिफोनको व्यवस्था गर्ने, काउन्सिलिङ गर्ने र आफ्नो कर्तव्यप्रति दत्तचित्त भई लाग्नुपर्नेमा उनको जोड थियो । 

यस अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले अस्पतालबाट भए गरेका काम कारबाही र उपचारको अवस्थाबारे जानकारी गराएका थिए ।



Author

थप समाचार
x