स्वास्थ्य

भारतले दियो नेपाललाई २०० वटा मिर्गौला डायलाइसिस मेसिन

इकागज |
फागुन ८, २०७९ सोमबार १३:३७ बजे

काठमाडौँ - भारतले नेपाललाई दुई सय वटा मिर्गौला डायलाईसिस मेसिन उपलब्ध गराएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले मेसिन हस्तान्तरण गरेका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले डायलाईसिस मेसिन ग्रहण गरेका हुन् ।

करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । मन्त्री गिरीले मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे ।


नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तिब्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिवद्धतासमेत व्यक्त गरे । नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।

भारतले कोभिड संकटका बेला मात्रै पनि १३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको थियो ।


Author

थप समाचार
x