स्वास्थ्य

अस्पताल उद्घाटन गर्न राष्ट्रपति भण्डारी हेटौंडा आउँदै

इकागज |
फागुन ९, २०७९ मंगलबार १०:४ बजे

मकवानपुर - हेटौँडा अस्पतालको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छिन् । २०७६ भदौ ७ गते निर्माण सुरु गरिएको मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालको आज १२ बजे विधिवत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

३५ करोड ३२ लाख लागतमा बीएस कन्ट्रक्सन कम्पनीले निर्माण गरेको सुविधा सम्पन्न नयाँ भवन निर्माण कार्य सकिएपछि केही महिना अघिबाटै अस्पतालले सेवा सुरु गरिसकेको छ । भौतिक पूर्वाधारको अभावले उपचारका लागि आउने बिरामीले सहज उपचारको सट्टा हैरानी खेप्नु परेको गुनासो आइरहेको बेला अस्पतालको भौतिक पूर्वाधार र जनशक्तिको अभावलाई अब सम्बोधन हुने आशा गरिएको छ।


४० सैयाको अस्पतालले बिरामीको चाप थेग्न नसकिने विशेषज्ञ सेवाहरू नपाइने जस्ता कारण सर्वसाधारण मारमा थिए । अब भवन व्यवस्थित हुँदा सर्वसाधारणहरूले पाउने सेवा सुविधामा समेत सुधार आएको मदन भण्डारी स्वस्थ्य विज्ञान प्रतिष्ठानका सदस्य उत्सव चौलागाईंले बताए ।

यसअघि अस्पतालमा आठ वटामात्र इमरजेन्सी बेड थिए। तर, अहिले निर्माण भएको नयाँ भवनमा इमरजेन्सी सहित २०० सैया छन् । नयाँ भवनमा सरे लगत्तै सीटी-स्क्यान जडान र सफ्टवेयर इन्टरनेट जडानको कार्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन रामचन्द्र सापकोटाले जानकारी दिए । अस्पतालमा एनआईसियु र आईसियु वार्डको पनि व्यवस्थापन हुने तयारी गरिएको छ ।

हेटौँडा अस्पताल २०१६ सालमा १५ बेडबाट सुरु भई जिल्ला अस्पतालको रुपमा २०२२ सालमा स्थापना भएको थियो। हेटौँडा अस्पताल विकास सेवा समितिको गठन भएपछि समितिले अस्पतालको विकास गर्नमा २५ शैया थप गरी नेपाल सरकारको २५ शैया र विकास समितिको २५ श्य्या गरी जम्मा ५० शय्या सञ्चालन हुँदै आएको थियो।

आर्थिक वर्ष २०६१/६२ सालमा मन्त्रिपरिषद्को निर्णयानुसार उप-क्षेत्रीय अस्पतालमा रुपान्तरण गरिएपनि उप-क्षेत्रीय अस्पतालको दरबन्दी पठाउन नसकेको कारण २०७१ असार २० को मन्त्रिपरिषद्को निर्णयले ५० शय्या कायम गरी सोही अनुसार दरबन्दी स्थापना भई पदपूर्ति भइरहेको थियो। पछिल्लो समय नेपाल सरकारको ५० शैया र विकास समितिको ५० शैया तथा अन्य १० शैया गरी ११० शैय प्रयोग भइरहेको थियो ।

अस्पतालमा अहिले औषत करिब ७ सय जनाले सेवा लिन्छन् भने ८८ जना विशेषज्ञ डाक्टरहरू कार्यरत छन् । अन्य समेत गरि ३८७ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन्। उद्घाटनको तयारीमा हेटौंडा अस्पताल परिसर सजाईएको छ,भने सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

तर सुरक्षा व्यवस्थापनको क्रममा बिरामीको आफन्त र बिरामीलाई आवतजावत गर्न वैकल्पिक मार्गको व्यवस्थापन गरिएकोले कुनै समस्या नहुने प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाइले बताए ।


Author

थप समाचार
x