बाँकेमा १० कोभिड संक्रमितको मृत्यु
बुटवल : बाँकेमा कोभिड-१९ संक्रमणका १२ घण्टाको अवधिमा १० जनाको मृत्यु भएको छ । बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्म १० जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
त्यस अवधिमा जिल्लाभित्रका ९ जना र जिल्ला बाहिरका १ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको जनाइएको छ । यसरी ज्यान मुमाउनेमा नेपालगन्ज उपमहानगरपालिकाभिका धेरै छन् । बुधबार बेलुका सवा ६ बजे नेपालगन्ज उपमहानगरपालिका १२ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
बैशाख १७ गते कोभिड संक्रमण देखिएपछि भेरी अस्पताल भर्ना भएका उनको पाँच दिनपछि बुधबार उनको मृत्यु भएको हो । त्यस्तै बैशाख १७ गते पिसिआर परिक्षण गराएकी नेपालगन्ज १० कि ७६ वर्षीय महिलाको पनि मृत्यु भएको छ । कोभिड संक्रमण देखिएपछि १९ गते ती महिलालाई भेरी अस्पताल भर्ना गरिएको थियो ।
अस्पताल भर्ना भएर उपचार चलिरहेकै अवस्थामा बुधबार बेलुका ७:३० मा ति महिलाको मृत्यु भएको बाँकेका कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए । कोभिड संक्रमण देखिएपछि उनलाई २० गते अस्पताल भर्ना भएका नेपालगन्ज-१ का ५८ वर्षीय पुरुषको बुधबार राति नै ८ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
त्यसको २० मिनेटपछि कोभिडबाटै भेरी अस्पतालमा नेपालगन्ज-१० का २७ वर्षीय एक जना युवाको मृत्यु भएको थियो । बैशाख १९ गते अस्पताल भर्ना भएका ती युवाको बुधबार बेलुका ८:२० मा मृत्यु भएको हो । यसअघि बुधबार बेलुका ७ बजे भेरी नगरपालिका-४ जाजरकोटकी ४३ वर्षीय महिलाको उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो ।
बैशाख २२ गते अस्पताल भर्ना भएकी महिलाको बेलुकी मृत्यु भएको छ । त्यसैगरी बेलुका ७:४० मा कोहलपुर नगरपालिका ५ का ३४ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको थियो । कोभिड संक्रमण पुष्टि भएपछि बैशाख १४ गते शिक्षण अस्पतालमा भर्ना भएका ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।
मध्यराति साढे १२ बजे नेपालगन्ज-४ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । बैशाख १८ गते पिसिआर परिक्षण गराएर १९ गते अस्पताल भर्ना भएका ति पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । यस्तै रातिको १ बजेदेखि बिहान ७ बजेको अवधिमा बाँकेकै तीन जनाले कोभिडका कारण मृत्यु भएको जनाइएको छ ।
जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका कोभिड फोकल पर्सन ओलीका अनुसार बिहान १:४० बजे नेपालगन्ज १० का ७८ वर्षीय पुरुष, बिहान ४:३० बजे नेपालगन्ज १९ का ७७ वर्षीय पुरुष र बिहान ७ बजे नरैनापुर गाउँपालिका-१ का ५६ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
बैशाख २० गते प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा कोभिड परिक्षण गराएका ती पुरुषलाई २१ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएर उपचार गरिरहेको अवस्थामा उनको मृत्यु भएको हो । योसँगै बाँकेमा कोभिडबाट मृत्यु हुनेकोसंख्या १५७ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएर मृत्यु हुनेको संख्या १२७ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया