स्वास्थ्य

काभ्रेमा फेरि देखियाे डेँगु र कोभिड संक्रमण

इकागज |
चैत १८, २०७९ शनिबार १९:३५ बजे

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकमा पुनः डेँगु र कोरोना सङ्क्रमण देखिएको छ । तीन महिनापछि सात जना कोरोना र पाँच महिनापछि डेँगु सङ्क्रमण पुष्टि भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यसै साता पाँचखाल–३ का ५१ वर्षीया एक महिलामा डेँगु सङ्क्रमण पुष्टि भएको छ । परीक्षणपछि हाल उनी घरमै स्वास्थ्यकर्मीको निगरानीमा छन् । हाल स्थानीय तहका स्वास्थ्य शाखामार्फत लक्षण तथा बच्ने उपायबारे प्रचार–प्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुरुषोत्तम सेढाईँले बताए ।


जिल्लामा तीन वर्षपछि पाँचखालमा डेँगुको सङ्क्रमण देखिएको थियो । डेँगु रोग लाग्ने व्यक्तिलाई अचानक उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्ने गरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विबिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिने सेढाईँको भनाइ छ ।

जिल्लामा हालसम्म छ सय ८० मा डेँगुको सङ्क्रमण देखिएको हो । 

कार्यालयका अनुसार जिल्लामा शुक्रबार १८ जनाको कोभिड परीक्षण गर्दा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेढाईँका अनुसार बनेपा नगरपालिका–३, पनौती नपा–२ र नमोबुद्ध नपा–२ मा कोभिड पुष्टि भएको हो । जिल्लामा हालसम्म १८ हजार एक सय ५९ मा कोभिड पुष्टि भएको छ भने एक सय ९६ जनाले ज्यान गुमाइसकेका छन् ।


Author

थप समाचार
x