स्वास्थ्य

कोभिड बढेपछि सुदूरपश्चिमका सीमा नाकामा कडाइ

इकागज |
चैत २५, २०७९ शनिबार १७:१३ बजे

फाइल फोटो

धनगढी - सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढ्न थालेपछि प्रदेश सरकारले भारतसंग जोडिएका सीमा नाकामा स्वास्थ्य चेक जाँचमा कडाइ गरेको छ ।पछिल्लो समय भारतबाट आउने नागरिकमा कारोना संक्रमण देखिन थालेपछि स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीले बताए ।

‘अहिले भारत संग सीमाना जोडिएका प्रदेशका सबै नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ,’ कार्कीले भने, ‘रोग लागेका व्यक्तिलाई अन्य यात्रुबाट छुट्टै राखेर उनीहरुको गन्तव्य स्थान सम्म जान सुझाव पनि दिइरहेका छौं ।’ पछिल्लो समय देखिएको संक्रमण कोरोनाको ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट हुन सक्ने उनले बताए । भारतमा ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट तीब्र रुपमा फैलिरहेको हुँदा अहिले देखिने संक्रमितमा पनि सो भेरियन्ट सक्रिय हुन सक्ने उनले बताए । 


‘यो ओमिक्रोनको रुपान्तरित भेरियन्ट हो,’ कार्कीले भने, ‘अहिले भारतमा यो भेरियन्ट तीब्र रुपमा फैलिरहेको छ, भारतबाट नेपाल भित्रीने नागरिकमा पनि पछिल्लो दिनहरुमा संक्रमण देखिने क्रम बढेको छ ।’ सुदूरपश्चिममा कोरोना संक्रमण नियन्त्रणका लागि हालसम्म खास्सै तयारीको योजना भने नरहेको उनले बताए ।

‘अहिले सम्म संक्रमितपनि त्यती धेरै देखिएका छैनन्, उनले भने, ‘भएकाहरूमा पनि गम्भीर स्वास्थ्य समस्या छैन, संक्रमणदर उच्च भएमा त्यसबारेमा केन्द्रले निर्णय गर्ला ।’ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी निर्णय केन्द्रीय कोभिड नियन्त्रण समितिले गर्ने गरेको उनले बताए । 

सुदूरपश्चिममा कारोना रोकथामका लागि भौतिक संरचनाको अभाव नरहेको उनले बताए । ‘संरचना हामीसंग प्रयाप्त रहेको छ,’ यदि नयाँ भेरियन्ट तीब्र रुपमा फैलि हालेपनि त्यसलाई रोक्न र व्यवस्थापन गर्न यहाँ कुनै समस्या हुनेछैन ।’

सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर शेरबहादुर कमरका अनुसार ओमिक्रोनको नयाँ भेरियन्ट तीब्र रुपमा फैलिने भएपनि स्वास्थ्य जटिलता भने कम रहेको बताए । ‘अहिले सम्म भारतमा देखिएको संक्रमणको अवस्था हेर्दा यो भेरियन्ट तीब्र रुपमा फैलने गरेको छ,’ कमरले भने, ‘तर रोगीको स्वास्थ्य जटिलता भने पहिलाको भन्दा न्यून छ, दीर्घ रोगी र कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिलाई रोग लागे समस्या हुन सक्दछ ।’

अहिले सेती प्रादेशिक अस्पतालमा फाटफुट रुपमा कोरोना संक्रमित आउने गरेका उनले बताए । संक्रमण पुष्टि भएका विरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने समस्या भने अहिलेसम्म नरहेको उनले बताए । ‘पीसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका विरामीलाई स्वास्थ्य सुझाव दिएर पठाउने गरेका छौं,’ कमरले भने, ‘अस्पतालमा भर्ना गर्नु पर्ने बिरामी आएका छैनन्, भर्ना गर्नुपरे अस्पतालको कोभिड वार्ड तयारी अवस्थामा छ ।’

त्रिनगर सीमा नाकामा स्थापना गरिएको स्वास्थ्य डेस्कका इन्चार्ज गणेश साउदका अनुसार पछिल्लो समय भारतबाट आउने धेरै मानिसमा कोरोना संक्रामण पुष्टि हुन थालेको छ ।

‘विभिन्न कारणले भारत गएका नेपालीहरू नयाँ बर्ष मनाउन भारतबाट फर्कने क्रम पनि उच्च छ,’ साउँदले भने, ‘उनीहरूमा संक्रमण पनि तीब्र गतिमा देखिएको छ, यसबारेमा सरकोकारवालाले सोच्नु जरुरी छ ।’ भारतबाट आउने मध्य ५ प्रतिशत नागरिकमा कोरोना संक्रमण देखिने गरेको उनले बताए । 


Author

थप समाचार
x