स्वास्थ्य

स्वास्थ्यकर्मीले चार महिनादेखि पाएनन् पारिश्रमिक

इकागज |
बैशाख ६, २०८० बुधबार ८:४९ बजे

भजनी - कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् ।

नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउँछन्। नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ । चौधरी भन्छन्, “चार महिनादेखि बिनातलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ ।”


सङ्घीय सरकारले दुई किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताए । पहिलो किस्तामा एक करोड ९२ लाख र दोस्रो किस्तामा ४२ लाख पठाएको थियो । चालु आवमा एक करोड ४२ लाख बजेट उपलब्ध भएको उनले बताए । चौधरीले भने, “स्थानीय तहले  बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन ।”

तत्काल नगरपालिकाबाटै भए पनि दुई महिनाको तलब उपलब्ध गराउन स्वास्थ्यकर्मीले माग गरेका छन् । नगरपालिकाका प्रमुख केवल चौधरीले स्वास्थ्यकर्मीको समस्या नगरपालिकाले समाधान गर्न नसक्ने बताए । स्वास्थ्यकर्मीलाई तलब खुवाउने जिम्मा सङ्घीय सरकारको भएको उनको भनाइ छ ।
 
“कर्मचारी सङ्घीय सरकारबाट आएका हुन् । उनीहरूको सेवासुविधा सङ्घीय सरकारले नै बेहोर्नुपर्छ”, नगरप्रमुख चौधरीले भने, “हामीले नियुक्त गरेका कर्मचारीको सेवासुविधा रोकेका छैनौँ ।” 


Author

थप समाचार
x