स्वास्थ्य

बागमतीको ७ जिल्लामा प्रदेशस्तरीय प्रयोगशाला स्थापना हुने

इकागज |
बैशाख २७, २०७८ सोमबार २०:३ बजे

हेटौंडा : बागमती प्रदेशले थप ७ जिल्लामा प्रदेशस्तरीय पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरेको छ । हाल प्रदेशको ६ जिल्लामा मात्रै पीसीआर प्रयोगशाला संचालनमा छ ।

बागमती प्रदेशले अब धादिङ, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, काठमाडौं, ललितपुर र चितवनमा प्रयोगशाला स्थापनाको तयारी गरेको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बताइन् ।


अहिले धादिङ, रसुवाको पीसीआर परीक्षण गर्न नुवाकोटको त्रिशुली अस्पतालमा स्वाब संकलन गरेर लानुपर्ने अवस्था छ । मन्त्री बस्नेतले प्रदेशको १३ वटै जिल्लामा प्रदेशस्तरीय प्रयोगशाला स्थापना गर्न लागिएको जानकारी दिइन् । प्रदेशमा कोरोना भाइरसको संक्रमणको परीक्षणको दायरा बढाउन यस्तो गर्न लागिएको उनको भनाइ छ । अहिले प्रदेशमा दैनिक १० हजार बढी कोरोना भाइरसको पीसीआर परीक्षण हुँदै आएको छ ।

प्रदेशले केही दिनअघि दोलखाको चरिकोटमा कारोना परीक्षण गर्न प्रयोगशाला सुरु गरेको थियो । सात जिल्लामा आवश्यक पीसीआर मेसिन खरिदको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन् । स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र बागमती प्रदेशमार्फत मेसिन खरिद गर्ने भएको हो । मन्त्री बस्नेतले प्रयोगशालामा कोरोना भाइरसको परीक्षण मात्रै नभएर अन्य रोगहरुको परीक्षण हुनेगरी संचालनमा ल्याइने बताएकी छन् । 
 


Author

थप समाचार
x