विश्व औलो दिवस
खुला सीमा नाका र भौगोलिक विकटता औलो निवारणका चुनौती
फाइल तस्बिर
काठमाडौँ- ‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस मनाइएको छ ।
नेपालमा पनि आज विविध जनचेतनामूलक कार्यक्रम गरी विश्व औलो दिवस मनाइएको हो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ ।
काठमाडौँमा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले औलो दिवसको अवसरमा कार्यक्रम आयोजना गरी औलोबारे जनचेतनामूलक कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले विगत १० वर्षको तुलनामा औलो नियन्त्रणमा सरकारले सफलता हासिल गरिरहेको बताए ।
उनले २०७० भन्दा अघिसम्म ३ हजार हाराहारीमा औलोका बिरामीहरू भएपनि अहिले ५ सयभन्दा कम मात्रै बिरामीहरू रहेको जानकारी दिए । औलो नियन्त्रणमा चुनौती रहे पनि निगरानी गर्दै अघि बढ्न जरुरी रहेको उनकाे भनाइ छ ।
आयातित औलो नियन्त्रण नै नेपालका लागि मुख्य चुनौती रहेको प्रमुख डा. दाहालले बताए । उनका अनुसार औलोको परीक्षण नहुनु, भारतसँगको खुला सीमानाका र भौगोलिक विकटता औलो निवारणका चुनौती रहेको छ ।
त्यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवा विभाग स्वास्थ्य साक्षरतामा स्पष्ट खाकासहित अघि बढेको बताए । उनले औलो नियन्त्रण गर्दै नेपाल लाखौँबाट सयौँमा आउनु आफैँमा खुसीको कुरा भएको बताए । उनले औलो रोगलाई शून्यमा झार्न पहल गर्ने पनि जिकिर गरे ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले नेपालमा विगत सय वर्ष यता औलोको समस्या रहने गरेको पाइएको उल्लेख गरेका छन् । औलोका कारण बिरामीमा पक्षघात र मष्तिष्कघातकाे जोखिम हुने गरेको चिकित्सकहरू बताउँछन् ।
औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया