घरघरमा बालबालिका खोज्दै स्वास्थ्यकर्मी
फाइल फोटो
चितवन - जिल्लामा रहेका सात पालिकाका सबै वडामा स्वास्थ्यकर्मी एवं स्वास्थ्य स्वयंसेविका बालबालिकाको खोजीमा जुटेका छन् । वैशाख महिनालाई खोप महिनाका रूपमा सरकारले मनाउने निर्णय गरेसँगै यतिखेर जिल्लाका सात पालिकामा रहेका चार सय ६२ स्वास्थ्य स्वयंसेविका र स्वाथ्यकर्मी बालबालिकाको खोजीमा लागेका हुन् ।
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार खोप नलगाएका बालबालिकाको खोजी गर्दै स्वास्थ्यकर्मी र स्वयंसेविका हरेक घरघरमा पुगेका छन् । पाँच वर्षमुनिका नियमित खोपमा नआएका बालबालिकाको खोजीमा उनीहरूलाई परिचालन गरिएको उनले बताए ।
बच्चा जन्मिएसँगै दिइनुपर्ने दादुरा, रुबेला, बिसिजी, टाइफाइडलगायतका १३ वटा खोपमध्ये कुनै एक छुटेको भएसमेत लगाउने व्यवस्था गर्नका लागि यो अभियान सञ्चालनमा ल्याइएको हो । केसीका अनुसार ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको पहुँचमा पुर्याउनका लागि अभियान सार्थक बन्नेछ ।
यसका लागि अहिले वडावडामा तथ्यांक संकलन, विद्यार्थी भर्ना अभियानका क्रममा विद्यार्थी र शिक्षकमार्फत पूर्ण खोपको बारेमा जानकारी गराउने, विद्यालय नर्स र स्वास्थ्य संस्थाको समन्वयमा पूर्ण खोपको बारेमा कक्षा सञ्चालन गर्नेलगायतका काम भइरहेको उनले बताए । अभियानकै क्रममा नियमित खोपमा नआएका बालबालिकालाई वैशाख १५ र ३१ गते स्वास्थ्य संस्थाबाट खोप लगाउने कार्यक्रमसमेत रहेको उनले जानकारी दिए ।
वैशाख मसान्तसम्ममा सबै वडा, स्थानीय तह पूर्ण खोप सुनिश्चितता भएको प्रमाणीकरण गर्ने गरी अभियानलाई तीव्र बनाइएको उनले बताए । हरेक वर्ष वैशाख महिनामा मनाइने खोप सप्ताहलाई मध्यनजर गर्दै सरकारले यस वर्ष खोप महिनाको रूपमा मनाउन लागेको हो । जिल्लामा यस वर्ष ५० हजार नौ सय ३१ जना बालबालिका पाँच वर्षमुनिका रहेका छन् ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया