स्वास्थ्य

अस्पताल र आफन्तको चेपमा शव (भिडियोसहित)

सृजना खड्का |
बैशाख २८, २०७८ मंगलबार २१:१५ बजे

काठमाडौँ  : सितापाइलाकी ६५ वर्षीया कृष्णमाया थापाको शव बी एण्ड बी अस्पतालको शव गृहमा छ । परिवारले बुझ्‍न मानेको छैन । अस्पतालले राख्‍न खोजेको छैन । ‘अस्पतालको लापरबाहीले आमाको मृत्यु भयो,’ छोरी सावित्रीको गुनासो छ । अस्पताल प्रशासन र उपचारमा संलग्‍न चिकित्सक भने यो कुरा मान्‍न तयार छैनन् ।

कृष्णमायालाई पित्तथैलीको क्यान्सर भएको थियो । साढे २ वर्षदेखि सोही अस्पतालमा उपचार गराइरहेकी थिइन् । बैशाख २० गते गाह्रो भएपछि उनलाई अस्पताल ल्याइएको थियो । शरीरमा रगत कमि भएकाले रगत चढाएपछि डाक्टरले उनलाई २४ गते डिस्चार्ज गरेका थिए । 


सावित्रीका अनुसार अस्पतालले उनकी आमालाई कोभिड सर्ने डरले डिस्चार्ज गरेको थियो । ‘यहाँ राख्यो भने कोरोना सर्न सक्छ घरमै लगेर तातो खुवाएर राख्नुस् भने,’ उनले भनिन्, ‘हामीले उनीहरूको कुरा मानेर अस्पतालबाट लिएर गयौँ ।’

सोमबार कृष्णमायालाई एक्कासी गाह्रो भयो । इमरजेन्सीमा भर्ना गरियो । दिउँसो उनको मृत्यु भयो । अस्पतालले बाटोमा ल्याउँदाल्याउँदै मृत्यु भएको भनेर शव व्यवस्थापकलाई पत्र काटेको छ । ‘बाटोमा हामी आमासँग कुरा गर्दै आएका थियौँ,’ सावित्रीले भनिन्, ‘अस्पताल ल्याएपछि नै आमाको निधन भएको हो ।’

अस्पतालले कहिले पीसीआर परीक्षण गर्‍यो सावित्रीलाई थाहा छैन । ‘पीसीआर परीक्षण गरेको शुल्क हामीले तिरेका पनि छैनौँ तर, अस्पतालले हिजो हामीलाई एक्कासी २२ गते गरेको पीसीआर रिपोर्ट थमायो,’ उनले भनिन्, ‘रगत, दिसा, पिसाब चेक गरेको पैसा तिर्नु पर्ने पीसीआरको नपर्ने यस्तो पनि हुन्छ ।’

परिवारका अनुसार कृष्णमाया बी एण्ड बी की पुरानो बिरामी हुन् । उनी साढे दुई वर्षदेखि सोही अस्पतालमा उपचार गराइरहेकी थिइन् । सो अवधिमा ५० लाख बराबर खर्च गरेको परिवारको दाबी छ । ‘आमालाई कोभिड नै देखिएको भए पनि साढे दुईवर्ष पैसा खानु खाएर अन्तिम अवस्थामा आइसोलेसनमा राख्ने कि घर पठाउने,’ सावित्रीले इकागजसँग गुनासो गरिन्, ‘उनीहरूले आफूले नसक्ने भए कि अन्त लैजानुस् भन्नुपर्छ । कि आमालाई कोरोना लागेको छ तपाईँहरू सर्तक हुनुस् भन्नुपर्छ । यहाँ त हामी सबैको ज्यानमाथि खेलवाड भयो ।’

आमालाई कोभिडको लक्षण नै नभएको र पीसीआर रिपोर्टमाथि नै आफूहरूलाई शंका लागेको उनले बताइन् । उनीहरूले यो गुनासो लिएर नेपाल मेडिकल काउन्सिलमा निवेदनसमेत दिएका छन् । 

पानीसरि पैसा बगाउँदा पनि आमाको उपचारमा लापरबाही भएको भन्दै सावित्री हारगुहार गरिरहेकी छन् । ‘हामीले आवाज उठाउँदा अस्पतालका कर्मचारी तैँ चुप मैँ चुप भएर बसेका छन्,’ उनले भनिन्, ‘सत्य तथ्य छानबिन भएपछि मात्र हामी आमाको शव उठाउँछौँ ।’ 

बिरामीको जीवनको ग्यारेन्टी हामी लिन सक्दैनौँ : अस्पताल प्रशासन

अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराईले क्यान्सरका बिरामीको जीवनको ग्यारेन्टी आफूहरूले लिन नसक्ने बताउँछन् । ‘डाक्टरले उहाँलाई साढे दुई वर्षदेखि बचाउँदै आएका थिए,’ उनी भन्छन्, ‘उहाँ घरिघरि रगत फेरिरहनु पर्ने खालको बिरामी हुनुहुन्थ्यो । त्यसमाथि उहाँलाई कोभिड पोजेटिभ पनि देखिएको थियो । क्यान्सरको बिरामीको हामीले जीवनभरको ग्यारेन्टी त लिन सक्दैनौँ नि !’ 

विगतमा भएको उपचारको खर्चलाई लिएर बिरामीको आफन्तले आक्रोश पोखेको उनी बताउँछन् । ‘उपचार गर्दा खर्च हुन्छ,’ उनी भन्छन्, ‘अस्पताल आउन–जान, औषधि खर्च आदि हुनसक्छ । उहाँहरूलाई त्यही खप्न गाह्रो भएको हो । आफन्त गुमाउँदाको पिडा त झन् छदैँ छ ।’ कोभिडले मृत्यु भएको बिरामीको शव अस्पतालमा धेरै दिन राख्दा अरुलाई संक्रमण फैलिने डर भएको उनी बताउँछन् । ‘अरुलाई संक्रमण फैलियो भने यसमा को जिम्मेवार,’ उनी भन्छन्, ‘चित्त नबुझेमा उहाँहरुले कानुनी बाटोमा जान सक्नुहुन्छ । बाटो खुला छ । तर, यसरी आएका  सेनालाई पनि शव लैजान नदिँदा अस्पताललाई असर परेको छ ।’ 

डाक्टर भन्छन् : संक्रमितको शव घर लान मिल्दैन भनेपछि यो लफडा भयो  

उपचारमा संलग्न डा.अरुण शाहीले मृतकको आफन्तलाई उपचारको विषयलाई लिएर कुनै गुनासो नभएको बताउँछन् । ‘हामी परिवारका सदस्य जस्तै थियौँ,’ उनी भन्छन्, ‘दुई तीन महिनादेखि उहाँलाई अलि गाह्रो भएको थियो । क्यान्सर सबैतिर फैलिसकेको थियो । त्यसमाथि पनि उहाँलाई कोभिड पोजेटिभ देखियो ।’

२० गते अस्पताल कृष्णमायालाई भर्ना गरेपछि कोभिडको लक्षण देखिएको उनी बताउँछन् । ‘लक्षण देखिएपछि पीसीआर गर्ने चलन छ,’ उनी भन्छन्, ‘मेडिकल अफिसरले पीसीआर गर्न पठाएछन् । २४ गते बिहान मलाई पीसीआर पोजेटिभ आएको थाहा भयो । यो कुरा उनीहरूको परिवारलाई पनि थाहा थियो ।’ 

बिरामीलाई अक्सिजनको आवश्यक नभएकाले आइसोलेसनमा राख्दा मानसिक असर पर्ला भनेर बिरामीको आफन्तकै सल्लाहमा डिस्चार्ज गरेको उनको जिकिर छ । 
‘त्यो मेरो वार्ड हो, त्यसको इन्चार्ज मै हुँ,’ उनी भन्छन््, ‘मलाई थाहा नभइ कोही बिरामीको भर्ना र डिस्चार्ज गर्न मिल्दैन । संक्रमित शव घर लैजान मिल्दैन भनेपछि यो सबै लफडा भएको हो ।’ 
 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x