विश्व नर्स दिवस
जब निलिमा ‘त्रासको महामारी’सँग लडिन् !
काठमाडौँ : रोग नयाँ थियो । त्यही नयाँ रोग कोभिड-१९ लिएर फ्रान्सबाट एक बिरामी अस्पताल आइपुगिन् । उपचार कसरी गर्ने थाहा थिएन । उनी निको हुन्छिन्, हुँदिनन्, भन्न सक्ने अवस्था पनि थिएन । केबल भय थियो, बिरामी र स्वास्थ्यकर्मी स्वयंमा ।
त्यही बेला निलिमाको हातमा उनै बिरामी आइपुगिन् । पेसाले निलिमा नर्स । ती बिरामीको रेखदेख गर्नु उनको पेशागत धर्म थियो । तर, आफ्नै ज्यानको जोखिम पनि उत्तिकै थियो । नहोस् पनि कसरी । यो रोगले विश्वका ठूला भनिएका देशलाई आक्रान्त बनाइसकेको थियो ।
नेपालको दोस्रो कोभिड संक्रमित प्रसिद्धि श्रेष्ठ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएकी थिइन् । उनको रेखदेखका लागि स्वास्थ्य मन्त्रालयले तीनजना नर्सको नाम सिफारिस गरेको थियो । त्यसमा अस्पतालमै काम गरिरहेकी नर्स निलिमा श्रेष्ठ (३०) पनि परिन् ।
अरु नर्सका घरमा बालबच्चा थिए । कोही दीर्घ रोगी । त्यसैले, मन्त्रालय र अस्पतालले हट्टाकट्टा र अविवाहित तीन नर्सहरू छानेको थियो । त्यसमा निलिमा पनि परिन् ।
सबैतिर त्रास थियो । उनलाई मात्र त्यो त्रासले नछुने कुरै थिएन । पहिलो पटक प्रसिद्धिको छेउ पर्दा उनी निकै अत्तालिएकी थिइन् । त्यति नै बेला उनको एक मनले भन्यो– ‘बरु बिहे गरेर बच्चा पाएको भए यस्तो डरलाग्दो रोगको उपचारमा त खटिनुपर्दैनथ्यो !’ अर्को मनले भन्यो, ‘ठिकै छ । दिदीहरूको बच्चा छ । रोगी पनि हुनुहुन्छ । यस्तो अवस्थामा हामी नै हो खट्ने !’
प्रसिद्धिपछि उनले एकपछि अर्को गर्दै अनगिन्ती कोभिड-१९ बिरामीको सेवा गरिसकिन् । केही बिरामीको नाम त उनलाई अहिले पनि कण्ठै छ । ‘पछि त बिरामीको चाप यति धेरै बढ्यो कि, कतिको रेखदेख गरियो,गरियो,’ उनले भनिन् ।
प्रसिद्धिको उपचारमा खटिन चालेको पहिलो पाइलाले निलिमाभित्र भएको त्रासको महामारीलाई जित्यो । जसको कारण अहिलेसम्म पनि उनी बिरामीको सेवामा निरन्तर लागिपरेकी छिन् ।
टेकु अस्पतालमा उनले काम गर्न थालेको १० वर्ष भयो । उनी अस्पतालकै क्वाटरमा बस्छिन् । ‘स्पेसल क्याबिन वार्ड’मा काम गर्छिन् । उनी २४ सैँ घण्टा तैनाथ हुनुपर्छ । ‘कोही स्टाफ बिरामी पर्न सक्छन्, कसैलाई इमरजेन्सी पर्न सक्छ,’ उनले भनिन्, ‘त्यस्तो बेला भने ‘डे अफ’ भएको दिन पनि ‘स्ट्यान्ड बाइ’ बस्नुपर्छ ।’
निलिमाको २४ घण्टे रुटिन
राति ड्युटी परेको बेला साँझ ८ बज्न ५ मिनेट बाँकी हुँदा उनी उपचार कक्षमा पुगिसक्छिन् । हाजिर गर्छिन् । डे सिफ्टका नर्सहरूबाट केसको ‘ब्रिफिङ’ लिन्छिन् । कुन बिरामीले के औषधि खाइरहेको छ । कुन बिरामी कतिको सिरियस छ, थाहा पाउँछिन् । दिउँसो ड्युटी पर्ने नर्सले सिफ्ट ‘ह्यान्डओभर’ गरेपछि उनी पीपीई लगाउँछिन् । प्रत्येक बिरामीको प्रेसर, अक्सिजन, ज्वरो र मुटुको धड्कन जाँच्छिन् । खाना खाए नखाएको सोध्छिन् । औषधि र हालचालबारे चासो राख्छिन् । उनले काम गर्ने वार्डमा अहिले १० जना कोभिडका बिरामी छन् ।
राति ९ बजे बिरामीको हालबारे नर्सिङ चार्टमा रेकर्ड राख्नुपर्छ । १० बजे औषधि खुवाउने समय हुन्छ । १२ बजे फेरि बिरामीको सुगर चेक गर्नुपर्छ । ‘अक्सिनजको अवस्था के छ, इमरजेन्सी मेडिसन छ, छैन पनि हेर्छु,’ उनले भनिन् ।
उति नै बेला राति कहिलेकाही नयाँ बिरामी भर्ना हुन आउँछन् । उनीहरूको व्यवस्थापनको लागि पनि उनी तयारी अवस्थामा बस्छिन् । त्यसपछि पनि बिरामीको डकुमेन्टेसनको काम हुन्छ । यसरी नै उनको रातिको ड्युटी बित्छ ।
१० जना बिरामीलाई दुईजना नर्सले हेर्नुपर्छ । कहिलेकाही उनीहरूलाई निकै आपत् पर्छ । किनभने, सबै बिरामी अक्सिजन लगाउनुपर्ने खालका छन् । एकैछिन छोड्यो भने बिरामीको अक्सिजन लेभल एकैचोटी स्वाट्टै घट्छ । ‘बत्तिबाट दिने अक्सिजन (कन्सन्टेटर) लगाएका बिरामी बत्ति गयो भने दुई-तीन मिनेट मै छट्पटाउन थाल्छन्,’ उनले सुनाइन्, ‘अक्सिजन स्याचुरेसन स्वाट्टै घटेर ५०-६० मा पुग्छ । त्यसैले हामी एकदमै चनाखो भएर बस्नुपर्छ ।’
उनले रेखदेख गर्ने बिरामीहरू समाचार हेरिरहन्छन् । दिनमा कति संक्रमित थपिए, कतिको मृत्यु भयो भन्ने समाचारले उनीहरूलाई निकै अत्याउँछ । ‘हामीलाई पनि के हुने हो सिस्टर भनिरहन्छन्,’ उनले भनिन्, ‘त्यस्तो बेला उनीहरूको नजिकै गएर ढाडमा थाप मार्दै त्यो तथ्यांक नहेर्नुस्, निको भएर घर फर्किने बिरामीलाई सम्झिनुस् भन्छु । योबेला उनीहरूलाई शारीरिकभन्दा भावनात्मक सपोर्ट बढी चाहिन्छ ।’
त्यस्तै, अक्सिजनको लेभल कति हुनुपर्छ भन्ने कुरा पनि उनका बिरामी सामाचार र सामाजिक संजालबाटै लिन्छन् । ‘९० बाट झरेर ८९ मात्रै पुग्यो भने पनि आत्तिन थाल्छन् । हामीलाई सम्झाउनै हम्मेहम्मे हुन्छ ।’
यसरी बेलुका ८ बजेबाट सुरु भएको ड्युटी बिहान ८ बजे सकिन्छ । ड्युटी सकेर निलिमा क्वाटर फर्किन्छिन् । ड्युटीबाट फर्किने बित्तिकै पेटले तातो खानेकुरा माग्छ । तर, रातको ‘ह्याङ्गओभर’ले उनलाई किचनतिर होइन, ओछ्यानतिर डोर्याउँछ । ‘कहिलेकाही उभिनै नसक्ने गरेर थकाइ लागेको हुन्छ,’ उनले भनिन्, ‘पहिला सुत्छु । अनि दिउँसो २-३ बजे उठेर मात्र खाना पकाएर खान्छु ।’
उनको आफ्नै दाजु र भाउजूलाई कोभिड पोजेटिभ देखिएको छ । तर, यो बेला उनीहरूलाई निलिमाले दिने उपचार भनेको म्यासेन्जरको भिडियो कल हो । ‘उहाँहरूको आठ महिने बच्चा पनि भएकाले निकै आत्तिइरहनुभएको छ,’ उनले भनिन्, ‘अहिलेको लागि म्यासेन्जरमा भिडियो कल गरेर सम्झाउनु नै मैले उहाँहरूलाई दिने उपचार हो ।’
यी सबैका बाबजुद जब कोभिडका बिरामी निको भएर घर फर्किन्छन्, उनीहरूको उत्साह देखेर निलिमा अस्पतालमा बिताएका अनिदा रातहरू बिर्सिन्छिन् । आफन्तलाई कोभिड लागेको बिर्सिन्छिन् । अनि बिर्सिन्छिन् आफ्नो थकान पनि । ‘बिरामी निको भएर जाँदा मिठाई, लड्डु र फलफूल किनेर ल्याउँछन्’ उनले सुनाइन्, ‘हामी पनि कुनै दिन तपाईँको काम आउन सकौँ भनेर कसैले नम्बर कसैले भिजिटिङ कार्ड छाडेर जान्छन् । त्यो बेला मन थाम्नै गाह्रो हुन्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया