स्वास्थ्य

आजदेखि तेस्रो चरणको निषेधाज्ञा : घर बाहिर निस्कन नपाइने, के-के छ आदेशमा ?

इकागज |
बैशाख ३०, २०७८ बिहीबार ७:२३ बजे

काठमाडौँ : काठमाडौँ उपत्यकामा आजबाट तेस्रो चरणको निषेशधाज्ञा जारी भएको छ । दोस्रो चरणको निषेधाधाज्ञा बैशाख २९ गते राति १२ बजेदेखि सकिसँगै निरन्तरता दिँदै जेठ १३ गतेसम्‍म निषेधाज्ञा लागू गरिएको छ ।  कोभिड संक्रमित बढेकाले पहिलेभन्‍दा यो पटक कडाइ गरिएको छ ।

उपत्यकाको तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको हो । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसपाली निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छ । मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।


सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । सार्वजनिक एवम् निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।

काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द हुने भएको छ । पराजुलीका अनुसार कोभिड-१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ । काठमाडौँ प्रशासनले एक सूचना जारी गरी कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गरिएको जनाएको छ ।

'निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ', प्रशासनद्धारा जारी सार्वजनिक सूचनामा उल्लेख छ । 


 


Author

थप समाचार
x