स्वास्थ्य

पीसीआरभन्दा एन्टिजेन परीक्षणमा दोब्बर खर्चिंदै सरकार

पीसीआर किटलाई ६ करोड खर्चिंदा १२ करोडमा एन्टिजेन परीक्षण किटको ठेक्का

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १४:१८ बजे

काठमाडौं : स्वास्थ्य सेवा विभागले ठूलो संख्यामा एन्टिजेन परीक्षण किट खरिद गर्न ठेक्का लगाएको छ । स्वास्थ्य सेवा विभागले आरडीटीजस्तै द्रुत परीक्षणमा प्रयोग हुने एन्टिजेन किट खरिद गर्ने भएको हो ।

विभागले कोभिड-१९ परीक्षणका लागि १९ करोड १८ लाख रुपैयाँमा ठेक्का लगाएको छ । त्यसमध्ये १२ करोड रुपैयाँमा एन्टिजेन किट खरिद गर्न लागेको हो । एउटा किटको एक हजार रुपैयाँ पर्छ ।

१२ करोड ८५ लाख रुपैयाँमा एन्टिजेन टेष्ट किटको ठेक्का लगाएको छ । यसको ठेक्का डिस्पोभन सिरिन्ज एन्ड मेडिकल डिभाइसेजलाई दिइएको छ ।   

गत वर्ष बैशाख १३ मा वीरगञ्‍जको नारायणी अस्पतालमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट एन्टिज परीक्षण गर्दा पोजिटिभ देखिएकी एक २३ वर्षीया युवतीको निधन भयो । तर, उनको पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो ।


कमिशनको चक्करमा ओम्नी समूहमार्फत खरिद गरेको पाइएको थियो । भारत तथा युरोपेली मुलुकमा समेत यसलाई प्रतिबन्ध लगायो । यो घटनापछि आरडीटी किटको खरिदको विश्वसनीयतामाथि प्रश्न खडा भएपछि सरकारले आरडीटी किटबाट परीक्षण रोकेको थियो ।

आरडिटी किटले शरीरमा भाइरसको संक्रमण भएपछि उत्पादन हुने एन्टिबडी भए–नभएको पत्ता लगाउँछ । एन्टिजेन परीक्षणबाट शरीरमा भएको कोभिड-१९ को प्रोटिनको मात्रा पहिचान गरिन्छ । यसले परीक्षण गरेको ३० मिनेटमा रिपोर्ट दिन्छ । तर, पीसीआर परीक्षणको तुलनामा कम विश्वसनीय मानिन्छ । एन्टिजेन परीक्षणले कोभिड-१९ संक्रमित भए/नभएको प्रमाणित भने नगर्ने विज्ञहरूले बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ परीक्षणमा पीसीआर परीक्षणलाई नै मान्यता दिएको छ । एन्टिजेन परीक्षण कोभिड-१९ को लक्ष्यण देखिएका बिरामी र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूको परीक्षणका लागि प्रयोग गरिन्छ ।

विभागले छ करोड ३२ लाख ५० हजार रुपैयाँमा पीसीआर ल्याबमा आवश्यक पीसीआर रिएजेन्ट, न्युक्लिक एसिड एक्स्ट्रयाक्सन किट र भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम) खरिदको ठेक्का लगाएको छ । यी सामग्री खरिदको ठेक्का लुम्बिनी हेल्थ केयरले पाएको छ ।


Author

थप समाचार
x