बाँकेमा बढ्दै थालेसेमियाका बिरामी
सांकेतिक तस्बिर
जानकी- बाँकेमा थालेसेमियाका बिरामी बढेका छन् । वंशाणुगत रोगका रूपमा रहेको थालासेमिया थारू समुदायमा बढी देखिन्छ । यो रोग विशेष गरेर थारू, मधेसी, मुस्लिम, जनजाति समुदायमा लाग्ने गर्दछ । थालेसेमिया सिकलसेल एनिमिया जस्तै रोग हो । नेपालगञ्ज भेरी अस्पतालका फिजिसियन डा राजन पाण्डेका अनुसार प्रत्येक महिना १५ जना थालेसेमियाका बिरामी बच्चाहरू अस्पताल आउने गरेका छन् ।
हप्तामा दुईदेखि तीन जनाको नयाँ डाइग्नोसिस हुने गरेको फिजिसियन डा पाण्डेले बताए । 'हिजोआज भेरीमा ठूला बिरामीभन्दा पनि बच्चाहरू आउने गरेका छन् । हामीसँग भएको डाटाअनुसार अहिले प्रत्येक महिना १५ जना थालेसेमियाका बिरामी बच्चा अस्पताल आउने गरेका छन्,' उनले भने, 'अहिले हामीले हप्तामा दुईदेखि तीनजना बच्चाको नियमित नयाँ डाइग्नोसिस गरिरहेका छौँ ।'
थालेसेमियाका बिरामीमा ८० प्रतिशत थारू समुदाय र २० प्रतिशत अन्य समुदायका रहेको फिजिसियन डा पाण्डेले बताए । उनका अनुसार थालेसेमिया रोक्नका लागि विवाह गर्दा नै ध्यान पुर्याउनु पर्छ । थालेसेमिया भएका महिला र पुरुषका बीचमा विवाह नगर्दा यो रोग बच्चामा सर्दैन । एक जनामा थालेसेमिया छ भने उसले थालेसेमिया नभएका व्यक्तिसँग विवाह गर्नुपर्छ । बच्चामा थालेसेमिया सरिसकेको छ भने उसको विवाह थालेसेमिया नभएकासँग विवाह गरिदिनुपर्छ ।
थालेसेमियाको उपचारभन्दा पनि यो रोग हुन नदिन विवाहमै ध्यान दिनुपर्ने डा पाण्डेको सुझाव छ ।
यति बेला बाँकेका थारू गाउँहरूमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पर्चा नै छ्यापछ्यापी बाँडिएको छ । सिकलसेल, थालेसेमिया रोगका स्रोत व्यक्ति डा पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख छ । पचास प्रतिशत बिरामी र ५० प्रतिशत वाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । पच्चिस प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत वाहकका बीचमा विवाह गर्दा पनि सोच विचार गर्नुपर्ने डा पाण्डेको भनाइ छ ।
सामान्यतया विवाह गर्दा चिना हेर्ने चलन छ तर थारू समुदायमा भने रगत जाँच गर्नुपर्ने भएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाहपूर्व नै रगत जाँच गरी वाहकहरू पत्ता लगाएर वाहक–वाहकबीच र वाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाएर समुदायले स्वीकार्न जरुरी रहेको डा पाण्डेले बताए । 'अहिले रोग नदेखिए पनि उनीहरूबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘वाहक’ भनिएको हो । यसबारे थारू समुदायलाई सचेत गराउन आवश्यक छ,' उनले भने ।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख सुनिता पौडेलले बिरामी र वाहक पत्ता लगाएर समुदायमा सचेतना जगाउने काम भइरहेको बताइन् । उनका अनुसार बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र वाहक पत्ता लगाउने काम भइरहेको र जाँच भइरहेको छ । यो रोगको उपचारमा धेरै खर्च लाग्ने हुँदा यसका बिरामी तथा आफन्तहरूको भने सरकारले बिरामीलाई बाँचुन्जेल निःशुल्क औषधि गर्नुपर्ने माग छ ।
सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्याका रूपमा परिभाषा गर्दै एक लाखसम्मको औषधि निःशुल्क दिने गरेको छ । रगतकै समस्या रहने थालेसेमियालाई जनस्वास्थ्य समस्याका रूपमा राखेर सरकारले निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने सम्बद्धले माग गरेका छन् ।
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलवस्तुलगायतका जिल्लाका थारू समुदायमा यो रोगको समस्या देखिएको छ । यतिबेला बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकाले यस रोगबाट ग्रसित भएका बिरामीहरूको बीमा बनाउने अभियान जारी राखेका छन् । सरकारले अत्यावश्यक औषधिको सूचीमा सिकलसेल र थालेसेमिया रोगीको औषधि पनि राखेको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया